काठमाडौं-भक्तपुर हुइँकिने गंगारामकाे ‘महिला एक्सप्रेस’
काठमाडौं, कात्तिक १५ : ‘सिस्टमबद्ध भई झगडामुक्त ख्वप: यातायात तपाईंलाई स्वागत गर्दछ’ बा ४ ख २७२४ नम्बरको बस चढ्ने बित्तिकै ढोकाम....
काठमाडौं, कात्तिक १५ : ‘सिस्टमबद्ध भई झगडामुक्त ख्वप: यातायात तपाईंलाई स्वागत गर्दछ’ बा ४ ख २७२४ नम्बरको बस चढ्ने बित्तिकै ढोकामै लेखिएका शब्द हुन् यी। र, गाडीकाे सिसामा लेखिएकाे छ, 'बिहान ८:३५ बजे एक समय महिला यात्रु मात्रै चढ्नुहोला।’
उपत्यकाभित्र चल्ने प्राय: सबै गाडीमा ठेलाठेल हुन्छ। अघिपछिको समयभन्दा अफिस जाने र आउने समयमा त झन उभिने ठाउँसमेत हुँदैन।
महिला, बालबालिका र वृद्धवृद्धालाई त झनै समस्या हुन्छ। यसैलाई ध्यानमा राखेर चालक गंगाराम खाइजुले बिहीबारदेखि अफिस समयमा आफ्नो बसमा महिला यात्रुमात्रै बोक्न थालेका छन्।
बिहीबार पहिलो दिन महिला यात्रुमात्रै बोकेर भक्तपुरबाट पुतलीसडक, बागबजार, रत्नपार्कको रुट पूरा गरेका छन् उनले।
एक दशकदेखि सार्वजनिक बस चलाउँदै आएका उनी विषेशगरी अफिस समयमा महिला यात्रुले भोगेको समस्यालाई मध्यनजर गरेर बिहानको सिफ्टमा महिला यात्रु मात्रै बोक्ने निर्णयमा पुगेका हुन्। ‘विषेशगरी कार्यालय समयमा महिलाले यात्रा गर्दा समस्या भोग्छन्’ गंगारामले गाडीको स्टेरिङ घुमाउँदै भने, ‘महिलाकै सुरक्षाका लागि मैले बिहानको सिफ्टमा महिला यात्रु मात्रै बोक्ने निर्णय लिएको हुँ।’
महिलाले भीडभाडमा यात्रा गर्दा यौन दुर्व्यवहारमा पनि पर्ने गरेको उनले सुनाए। त्यसैले पनि भिडभाड हुने अफिस समयमा महिला मात्रै बाेक्ने निष्कर्षमा पुगेकाे उनकाे भनाइ छ।
गंगारामले महिला यात्रु मात्रै बोक्ने सेवा बिहीबारदेखि भक्तपुर–बागबजार रुटमा सुरु गरेका छन्। सुरुवातमा परीक्षणको रुपमा बिहानी सिफ्ट मात्रै महिला यात्रु बोक्ने भएपनि माग बढे दिनभर महिला यात्रु मात्रै बोक्ने योजनामा छन्, उनी। ‘अहिले तत्काललाई दिउँसोको समयमा महिला–पुरुष दुवैले यात्रा गर्न पाउँछन्’ उनले भने, ‘तर माग बढ्यो भने म सबै महिला यात्रु मात्रै बोक्ने योजनामा छु।’
पहिलो पटक महिलाले सुविधाजनक र आरामदायीको बस चढ्न पाउँदा खुशी भएको बताएका छन्।
भक्तपुरको सल्लाघारीकी मीना केसीले यस्तो यात्राले महिला निकै सुरक्षित हुने बताइन्। उनले अरू दिनभन्दा आज उभिएरै भएपनि महिलासँगै मात्रै यात्रा गर्दा सहज अनुभव गरेको सुनाइन्।
‘महिलाका लागि यो कामको सुरुवात हुन आवश्यक छ। सधैँ कष्टकर यात्रा गर्दै अफिस आउनुपर्थ्यो आज भने रमाइलो भयो’ बसमै भटिएकी केसीले भनिन्।
यस्तो छ बसको नियम
बसमा सहचालकको व्यवस्था छैन। बस स्टेशनमा यात्रु चढ्दा र झर्दा अटोमेटिक ढोका लाग्ने र बन्द हुन्छ। सहचालक नभएकाले पुतली सडक-बाजबजार-रत्नपार्क भन्दै रेकर्ड गरिएको अवाज ठूलो स्वरमा बजिरहेको हुन्छ।
बाहिर ढोकामा महिला यात्रु मात्र लेखेर ठूलो अक्षरमा राखिएको छ। बसको भित्रपट्टी क्याबिनमा बाकस छ। त्यसको माथिबाट 'पैसा यो बाकसमा राख्नुहोला' भन्ने लेखेर राखिएको छ।
ढोकोको भित्रपट्टी ठूलो टोकरी राखिएको छ जहाँ 'फोहोर मलाई' लेखिएको छ। बसभरि कसरी चढ्ने? कसरी बस्ने? के गर्ने ? के नगर्ने? जस्ता जानकारीमूलक सन्देश लेखेर टाँसिएको छ।
मुख पुछ्न वा हाँच्छ्यू आउँदा. रुघाखोकी लाग्दा नाक पुछ्न टिस्यु पेपर पनि राखिएको छ। पेपर नि:शुल्क प्रयोग गर्न मिल्छ।
उनी बसमा यात्रुलाई मिलेर बस्न पटक-पटक माइकमार्फत आग्रह गर्छन्। झर्ने बेला यात्रुले घण्टी बजाउनुपर्छ र 'ड्राइभर साहेब मलाई यहाँ रोकिदिनुहोस्' भन्नुपर्छ। त्यसपछि उनी धन्यवादसहित यात्रुलाई झर्न अनुरोध गर्छन्।
पहिलो पटक यो गाडीमा चढ्ने मान्छे अचम्ममा पर्छन्। कतिपयले कति राम्रो नियम भन्दै धन्यवाद दिने गरेकाे उनले सुनाए। उनी भन्छन्, 'कतिपय मतिर हेर्दै मुसुक्क हाँसेर ओर्लिन्छन्। त्यस्ताे बेला ठीकै काम गरिरहेकाे छु भन्ने लाग्छ।'