‘वैदेशिक ऋण र अनुदान लिँदा राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्छ’
उनले एमसिसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र वृहत राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले खारेज गरेर जानुपर्ने बताइन् । ‘अन्यथा त्यसका दुरगामी दुष्परिणामहरु हुनेछन्,’ उनले भनिन्।
काठमाडौं, जेठ १८ : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले वैदेशिक ऋण तथा सहयोग लिँदा राष्ट्रिय हितलाई ध्यानमा राख्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग तथा ऋण लिन आवश्यक रहेको बताइन् । त‘र, त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाभिमान, राष्ट्रिय अर्थतन्त्र र वृहत राष्ट्रिय हितमा आँच नआउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भनिन्।
उनले एमसिसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र वृहत राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले खारेज गरेर जानुपर्ने बताइन् । ‘अन्यथा त्यसका दुरगामी दुष्परिणामहरु हुनेछन्,’ उनले भनिन्।
बजेटमा सकारात्मक महत्वका कैयौं कार्यक्रमहरु समावेश गरिएका छन् । तिनिहरुलाई कार्यान्वयन गरेमा देशमा दिगो विकास हुनसक्ने आशा गर्न सकिन्छ। गत वर्षहरुमा बजेटका धेरै कार्यक्रमहरु कार्यान्वयन हुन सकेन आगामी वर्षमा त्यस्तो नहोस् भनेर सरकारको ध्यानाकर्षण गराउँछु।
उनले संविधानले समाजवाद उन्मुख राष्ट्र निर्माणलाई जोड दिएको भएपनि बजेटले समाजवाद उन्मुख ठोस कार्यक्रम नल्याएको बताइन्। ‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग दुबै क्षेत्रमा यथास्थितिवादभन्दा माथि उठेर समाजवादी दिशामा केही ठोस कदमहरु चाल्नुपर्ने देखिन्छ त्यो आएन,’ उनले भनिन्।
पौडेलले कृषिमा उत्पादन बढाउने विषय भने स्वागतयोग्य रहेको बताइन्। तर भूमिहिन किसानलाई जमिन वितरण नगरि कृषि उत्पादनको वृद्धि सम्भव नहुने पनि बताइन्।






