मानिसलाई सबैभन्दा धेरै खुशी केले दिन्छ?
खल्तीमा पैसा हुने बित्तिकै मानिसहरू किन शपिङ जान्छन्? भौतिक सम्पत्तिले खुशि दिन्छ। तर त्यो अस्थायी हुन्छ। नयाँ सामान किनेको केहि दिनपछि त्यसको चमकदमक र आनन्द हराउन थाल....
खल्तीमा पैसा हुने बित्तिकै मानिसहरू किन शपिङ जान्छन्? भौतिक सम्पत्तिले खुशि दिन्छ। तर त्यो अस्थायी हुन्छ। नयाँ सामान किनेको केहि दिनपछि त्यसको चमकदमक र आनन्द हराउन थाल्छ।
नयाँ सामानसँग बानी पर्दै जाँदा सन्तुष्टि पनि घट्दै जान्छ। अर्को उत्साहजनक वस्तु किन्न मन बाध्य हुन थाल्छ। यो दुष्चक्र पटकपटक दोहोरिदैं जान्छ। यसलाई एक प्रकारको “एडिक्सन” नै मान्न सकिन्छ। दुर्भाग्यवश पैसाले मानिसको जीवन सजिलो र कम तनावपूर्ण त बनाउनसक्छ तर दीर्घकालीन खुशी दिन सक्दैन।
कोर्नेल विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार यो दुष्चक्र भत्काउने उपाय पनि छ। विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक थोमस गिलोभिचले आफूलाई चाहिएको नयाँ सामान किन्दा र यात्रा गर्दा मानिसहरूलाई खुशीको परिमाण समान हुने खुलाएका छन्। महत्त्वपूर्ण कुरा त के हो भने, नयाँ सामान खरिद गरेको केहि समयमा खुशी घट्दै जान्छ भने यात्रामा गरिएका अनुभवले लामो समयसम्म खुशी दिने हर्मोन उत्पादन भइरहन्छ।
अनुकुलनलाई खुशीको एउटा शत्रु भएको गिलोभिचले बताए। खुशीका लागि सामान खरिद गरिन्छ र यो खुशी अल्पकालीन मात्रै हुन्छ। चाँडै तपाईंलाई खुशी दिने वस्तुको बानी लाग्दै जान्छ। उसो भए दिगो खुशीको कारण के हो त?
अनुभव।
नयाँ खरिद गर्दा नयाँपनको अनुभव त हुनसक्छ। तर खुशी कायम राख्ने मुख्य तत्त्वको अभाव हुन्छ। डा.गिलोभिचले बताए अनुसार मानिसको अनुभव भौतिक वस्तुभन्दा ठूलो हुन्छ। खरिद गरेको सामग्री साँच्चिकै मन पर्नसक्छ र त्यो वस्तुसँग आफू पनि जोडिएको मानिसहरूलाई अनुभव हुनसक्छ। तर ती वस्तुहरू तपाईंको पहिचानभन्दा भिन्न र फरक हुन्छ। अर्कोतिर तपाईंको अनुभव तपाईंकै एउटा अंश हुन्छ।
तपाईंको सबैभन्दा सुन्दर सम्झनाहरू तपाईंले खरिद गरेका वस्तुमा हुँदैन। त्यो भन्दा धेरै त तपाईंले जीवनभरि गरेका अनुभवहरूको सँगालो नै हो। यात्राले तपाईंलाई नयाँ सँस्कृति र स्थानसँग परिचय गराउँछ। यस्तो वातावरणमा, वरपरका सबै कुरा समृद्ध लाग्न सक्छ। तपाईंको मष्तिष्क र शरिरलाई समयको हेक्का हुँदैन किनभने उनीहरू नयाँ जानकारी संकलन गर्नमै व्यस्त हुन्छन्।
आफू बानी परेको साधारण वातावरणबाट सम्पर्क टुट्दा खुशी र दीर्घकालीन सम्झनाहरू सिर्जना गर्ने उत्कृष्ट वातवरण तयार हुन्छ। यसलाई बिर्सन वा स्थानान्तरण गर्न निकै कठिन हुन्छ। हार्वर्ड युनिभर्सिटीको ८० वर्ष पुरानो अनुसन्धानका प्रमुख रोबर्ट वाल्डिङ्गरलाई खुशीबारे धेरै कुरा पत्ता लगाएका छन्। उक्त अध्ययन अनुसार आफ्नो परिवार, साथीभाइ, समुदाय र अन्य मानिसहरूसँग सबैभन्दा नजिक जोडिएका व्यक्तिहरू नै स्वस्थ र धनी हुने देखिएको छ।
यसै सिलसिलामा जीवनमा नजिक भएका व्यक्तिसँग नयाँ नयाँ कुरा गरेर सम्बन्धलाई गहिरो बनाउन सकिने वाल्डिङ्गरले बताएका छन्। अनुभवले भौतिक वस्तुभन्दा गहिरो र बलियो गरि अन्यसँग जोड्ने उनको तर्क छ। उनका लागि जीवनका केहि महत्त्वपूर्ण अनुभव मध्ये यात्रा एउटा हो। यात्राले उनलाई परिवारको नजिक बनाएको उनी बताउँछन्।
साहसिक खेलमा सहभागी हुनु, नयाँ सीप सिक्नु वा अनौठा घटनामा सहभागी हुनाले तपाईंलाई खुशी दिन्छ। नयाँ कार वा ग्याजेट बिस्तारै साधारण र पुरानो बन्दै जान्छ। अर्कोतिर तपाईंले सिर्जना गरेका सम्झनाहरू जीवनभरि तपाईंसँगै रहन्छ। यो खुशीको वास्तविक श्रोत पनि हो।
त्यसैले कठिन परिश्रम गरेर कमाएको धनलाई अनुभव कमाउन लगानी गर्नुहोस्। दीर्घकालीन खुशी र सन्तुष्टि पाउनुहुनेछ।
(डेली हेल्थ पोस्टबाट अनुवाद गरिएको हो)