पेट्रोलियम पदार्थमा १० रुपैयाँ पूर्वाधार कटौती गर्ने निर्णय, निगम भन्छ– औपचारिक जानकारी आएको छैन
मंगलबार अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै पेट्रोल र डिजेलमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउन भनेको हो ।
काठमाडौं, जेठ १८ : सरकारले पेट्रोलिय पदार्थमा लाग्दै आएको पूर्वाधार कर कटौती गर्ने निर्णय गरेको छ । मंगलबार अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै पेट्रोल र डिजेलमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउन भनेको हो ।
पेट्रोलियम पदार्थमा उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा परेको प्रभाव न्यूनिकरण गर्न सरकारले पूर्वाधार कर घटाउन लागेको हो। मन्त्रिपरिषद् बैठकले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थ मन्त्रालयलाई सहमति दिएको थियो। सोही आधारमा अर्थले कर घटाउन आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको हो।
मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार नै कर घटाउने निर्णयसम्बन्धीको पत्र आपूर्ति मन्त्रालयलाई पठाइएको जानकारी दिए । कर घटाइएपछि पेट्रोलियम पदार्थको मूल्य पनि समायोजन हुने आकलन गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गर्दा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार करमा १५ रुपैयाँको वृद्धि गरेका थिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले निगमले सरकारलाई पूर्वाधार शीर्षकको करमा ५ रुपैयाँ घटाउन आग्रहसहितको पत्राचार गरेको थियो। यसपटक अर्थमन्त्री जनार्दन शर्माले १० रुपैयाँ कर घटाएसँगै पेट्रोलियम पदार्थको मूल्य समायोजना हुने आकलन गरिएको छ ।
हामीलाई औपचारिक जानकारी आएको छैन : प्रवक्ता
आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमले पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर सरकारलाई बुझाउँदै आएको छ । पूर्वाधार कर पेट्रोल र डिजेलमा मात्र लगाइएको उनले बताए । निगमले एक लिटर पेट्रोलको ६३ रुपैयाँ २३ पैसा, डिजेलमा ४५ रुपैयाँ ९१ पैसा, मट्टितेलमा १३ रुपैयाँ ६६ पैसा र एलपी ग्यासमा ३२७ रुपैयाँ ५१ पैसा कर सरकारलाई बुझाउँदै आएको प्रवक्ता उपाध्यायले जानकारी दिए।
सरकारले पूर्वाधार शीर्षकको कर कटौती गर्ने निर्णयको औपचारिक जानकारी आफूहरुलाई नआएको पनि उनले बताए । मंगलबार निर्णय भएको भनेर हामीले पनि सञ्चारमाध्यमहरुबाटै जानकारी पाएका र्हौ, आपूर्ति मन्त्रालयले हामीलाई त्यस विषयमा कुनैपनि जानकारी औपचारिक रुपमा हामीलाई दिएको छैन,’ उनले भने ।
पूर्वाधार शीर्षकको कर घटाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छ ? भन्ने प्रश्नमा प्रवक्ता उपाध्यायले निगम चर्को घाटामा चलिरहेकाले तत्काल त्यो विषयमा केही भन्न नसकिने बताए।











