रुकुम हत्याकाण्ड : ब्यानरमा छोराको तस्बिर देखेर राधिका बुढा रोइरहिन्
‘हत्याराहरू एक–एक गरी जेलबाट छुट्दैछन् । न्याय माग्नका लागि सडकमा उत्रिरहँदा हामीलाई पनि मार्छन् कि भन्ने डर हुन्छ । छोराको ज्यान लिने अपराधी उम्किनु हुँदैन।’
काठमाडाैं, जेठ १८ : जेठ १० गते मंगलबार दिउँसो माइतीघर मण्डला छेउको सडकपेटी उदास लाग्थ्यो । दुई वर्षअघि मारिएका आफ्ना छोराको न्यायका लागि त्यहाँ पाँच आमाहरू धर्नामा थिए ।
राधिका बुढाले छोरा (गणेश बुढा)को तस्बिर हेरेपछि मन थाम्नै सक्दिनन् । त्यसैले उनले घरमा छोराको तस्बिर हेर्दिनन् । धर्नाको ब्यानरमा गणेशको तस्बिर थियो, तस्बिरलाई छोएर उनी निकैबेर रोइन् ।
उनलाई अझै पनि आफ्नो छोरो गणेश कतै खेल्न गएको छ र फर्केर आउँछ जस्तो लाग्छ, सत्य यही हो कि उनका छोरा गणेश अब कहिल्यै आउँदैनन् ।
‘मेरो छोरा ठूलो भइसकेको थियो, हामीलाई काममा सघाउने आशा थियो,’ ४३ वर्षीया राधिकाले भक्कानिँदै भनिन्, ‘पापी जातले छोराको ज्यान लियो ।’
बिनागल्ती मारिएको छोराले न्याय नपाएसम्म आफ्नो मनले शान्ति नपाउने राधिका बताउँछिन् । ‘अपराधीहरूले सजाय नपाउन्जेल न्यायका लागि आवाज उठाउँछु,’ उनले काठमाडौं प्रेसलाई भनिन्, ‘न्याय माग्दा धेरैपटक प्रहरीको कुटपिट सहेकी छु ।’
न्याय माग्न जिल्ला तथा उच्च अदालत पुग्दा प्रहरीले लाठीचार्ज समेत गर्ने गरेको उनी बताउँछिन् । ‘मैले प्रहरीको एक–दुई लाठी खाँदा त धेरै दिनसम्म शरीर दुख्यो । मेरो छोरालाई कुटीकुटी मारेका थिए, कति पीडा भयो होला ?’
१० जेठ २०७७ को साँझ जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीमा गएका थिए । केटी पक्षको आक्रमणमा परी नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो । हत्या भएको दुई वर्ष बितिसक्दा पनि हत्यामा संलग्नलाई सजाय हुन नसक्दा न्यायको माग गर्न मृतक गोविन्द शाहीकी आमाबाहेक सबै काठमाडौं आएका थिए ।

यस घटनामा ३४ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको थियो । अहिलेसम्म १० जना साधारण तारिखमा र एकजना एक लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् भने २३ जना थुनामा छन् ।
‘हत्याराहरू एक–एक गरी जेलबाट छुट्दैछन्,’ राधिका भन्छिन्, ‘न्याय माग्नका लागि सडकमा उत्रिरहँदा हामीलाई पनि मार्छन् कि भन्ने डर हुन्छ । छोराको ज्यान लिने अपराधी उम्किनु हुँदैन ।’
मृतक टीकाराम सुनारकी आमा ३७ वर्षीया गीता सुनार काखमा चारमहिने छोरी च्यापेर बसेकी थिइन्, हत्या गरिएका आफ्ना छोराको न्यायका लागि । छोरी रुँदा उनी घरी पेटीबाट उठेर छोरीलाई भुलाउने प्रयास गर्थिन्, घरी छोरीलाई कपडाले हम्किन्थिन्, घरी दूध चुसाउँथिन् । ‘के गर्नु ? त्यही एउटा छोरा थियो काँध थाप्ने, त्यसलाई पनि मारिदिए,’ काठमाडौं प्रेससँगको कुराकानीमा गीताले भनिन्, ‘छोराले हेरचाह गर्ने उमेरमा छोराका न्याय माग्न हिँड्नुपरेको छ । हामीजस्तो अभागी आमा अरु कोही नहोला ।’
यस घटनामा न्यायका लागि सरकारलाई दबाब दिन मंगलबार दिनभरि माइतीघर मण्डलामा विभिन्न कार्यक्रम भए । ती कार्यक्रममा जतिपटक आमाहरूले आफ्ना छोराका नाम सुन्थे, त्यति नै पटक उनीहरू भक्कानिन्थे ।
नवराजकी आमा उर्मिला विश्वकर्मा न्याय पनि मर्ने हो कि भन्ने चिन्तामा छन् । ‘एक्लो छोरा थियो, दुःख गरेरै भए पनि पढाएका थियौँ, बुढेसकालमा साहारा दिन्छ भन्ने आस थियो,’ उर्मिला भन्छिन्, ‘बुढेसकालको लाठी भाँचियो । अब हत्यारालाई कानुन अनुसार सजाय दिन पाए हामीलाई केही चाहिँदैन । मेरो अन्तिम इच्छा नै हत्यारालाई कानुन बमोजिम सजाय दिलाउनु हो ।’
उर्मिला काँधमा शिर राखेर रोइरहेकी थिइन्, लोकेन्द्र सुनारकी आमा लक्ष्मी । बढी रोएरै होला, उनका आँखा सुन्निएका थिए । लक्ष्मीले हामीसँग पीडा व्यक्त गरिन्, ‘दाइचाहिँ (जेठो छोरो) कान्छो भाइलाई पढाउनुपर्छ भनेर विदेश गएको थियो, कान्छालाई मारेर खोलामा बगाइदिए ।’ लक्ष्मीका श्रीमान्को चार वर्षअघि दुर्घटनामा परी मृत्यृ हुन पुग्यो । सोही दुर्घटनामा परी उनकी छोरी पनि अशक्त बन्न पुगिन् । ‘श्रीमान् गुमाएँ, छोरी अशक्त छे,’ उनी भन्छिन्, ‘त्यसमाथि छोरालाई मारे । म कति अभागी आमा हुँ ।’
हत्या हुँदा सन्दीप विश्वकर्माका छोरा चार वर्षका थिए, अहिले उनी ६ वर्षका भए । सन्दीपकी आमा सविता घरमा नातिलाई देख्दा छोराको यादले मुटु पोल्ने बताउँछिन् । ‘कलिली बुहारी (२३ वर्षीया) र नाति देखेर घरमा बस्नै मन लाग्दैन,’ उनी भन्छिन्, ‘अपराधीलाई सजाय भए मन केही शान्त हुन्थ्यो ।’
मृतक गोविन्द शाहीकी आमा भीमाकुमारी स्वास्थ्य समस्याका कारण काठमाडौं आउन सकिनन् । ‘म यहीँ (जाजरकोट) बसेर न्याय मागिरहेकी छु’ भीमाकुमारीले टेलिफोनमा भनिन्, ‘आमाभन्दा छोरो अघि लाग्नुको पीडा सहिनसक्नु हुन्छ ।’
उनले दुई वर्षअघि पानीले ढाडिएको छोराको शरीर देखेकी थिइन् । गोविन्दको शव हत्याको ११औँ दिन भेटिएको थियो । उनको शरीरमा चोटैचोट थियो । ‘त्यसरी चोट लाग्दा कतिपटक मलाई सम्झियो होला,’ लामो श्वास लिएर उनले भनिन्, ‘ज्यान लिने अपराधीलाई ज्यान लिने कानुन हुर्नुपथ्यो, अनि मान्छेले मान्छेलाई मार्न डराउँथे ।’
यो पनि...
रुकुम हत्याकाण्ड स् ११ जना छुटे २३ जना थुनामा, न्याय खोज्दै आमाहरू काठमाडौंमा











-(86)-1764936079.jpg)
