युवतीको हत्यारालाई ३० वर्ष कैद
म्याग्दी, माघ २४ : युवतीकाे हत्यामा एक युवकलाई म्याग्दी जिल्ला अदालतले ३० वर्ष कैद सजाय सुनाएकाे छ ।
सात महिनाअघि काल....
म्याग्दी, माघ २४ : युवतीकाे हत्यामा एक युवकलाई म्याग्दी जिल्ला अदालतले ३० वर्ष कैद सजाय सुनाएकाे छ ।
सात महिनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गरेकाे आराेपमा बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)लाई ३० वर्ष कैद सुनाइएकाे हाे । उनले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरि गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको अनुसन्धानमा खुलेकाे थियाे ।
जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार उनलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरि ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए । उनका अनुसार इन्द्रलाई एक लाख रुपैयाँ जरिवाना र अपहरण अवधिको दैनिक पाँच सयका दरले थप जरिवाना तिराउने फैसला गरेकाे हाे ।
गत असार १४ गते लु २ च २४५४ नंको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक इन्द्र सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए । कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले उनीविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो ।
घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो ।
अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)