संसदीय समिति सदस्य हेरफेर, माधव र केपी एउटै समितिमा
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् ।
काठमाडौं, जेठ १७ : प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिमा सदस्यहरु हेरफेर भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै संसदीय समितिको सदस्य भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्तर्गत एमाले अध्यक्ष ओली प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका हुन् भने सोही समितिमा यसअघि नेकपा एसका अध्यक्ष नेपाल सदस्य रहँदै आएका छन् । अब हुने अन्तर्राष्ट्रिय समितिको बैठकमा दुई अध्यक्ष एउटै बैठकमा सँगै हुनेछन् ।
राजनीतिक पार्टीको संसदीय दलले पठाएको विवरण अनुसार र सांसदहरुको छनौटअनुसार सभामुखले सांसदहरुलाई विभिन्न समितिका लागि छनौट गरेका हुन् । अध्यक्ष ओली २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनैपनि संसदीय समितिको सदस्य रहेका थिएनन् ।
यद्यपी उनी सबै संसदीय समितिको पदेन सदस्य भने रहेका थिए । नेपाल सरकारका सबै मन्त्रीहरु संसदीय समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।











