अर्थमन्त्रीलाई योगेशको प्रश्न : कमिशन नआउने भएर शिक्षा र स्वास्थ्यको बजेट कटौती गर्नुभएको हो ?
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै भट्टराईले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बजेट नबढाइनुको कारण सोधेका हुन्।
काठमाडौं, जेठ १७ : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले शिक्षा र स्वास्थ्यमा उल्लेख्य रुपमा बजेट नबढाइएको कारणबारे अर्थमन्त्रीलाई प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै भट्टराईले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बजेट नबढाइनुको कारण सोधेका हुन् ।
भट्टराईले हालका अर्थमन्त्री प्रतिनिधि सभाका सदस्य हुँदाताकाको अन्तरवार्तामा बोलेका विषयलाई सन्दर्भका रुपमा जोड्दै भनेका छन्– अन्तर्वातामा अर्थमन्त्रीहरुले कमिशन नपाउने कारण शिक्षा र स्वास्थ्यको बजेट नबढाएको भन्नुभएको छ ।
अहिले प्रस्तुत गरेको बजेटमा शिक्षामा करिब १० प्रतिशत बजेट बढाइएको र स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा बजेट घटाएको बताउँदै भट्टराईले सोधे, ‘ साँच्चै कमिशन नआउने भएर शिक्षा र स्वास्थ्यको बजेट कटौती गर्नुभएको हो ?’ उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट बढ्नुपर्नेमा उल्टै घट्नु दुःखद रहेको बताए।
भट्टराईले अहिलेको बजेटले गन्तव्य नलिने दाबी गरे ।‘बजेटमा कहिँ लेसेस्फेयरको गन्ध आउँछ, कतै माओको गन्ध आउँछ , कतै माक्र्सको पनि गन्ध आउँछ,’ उनले भने,‘मेरो बिचारमा यो बजेट चौबाटोमा उभिएको छ । कतै पनि जाँदैन र मुलुकको हित पनि गर्दैन।’
उनले समाजको सामाजिक रुपान्तरण, सामाजिक विभेद र आर्थिक विभेदको अन्त्य गर्न मूलतः समाजको उत्पादक शक्तिहरुको विकास, उत्पादन साधनहरुको न्यायोचित वितरण र उत्पादन साधनहरुको अधिकतम उपयोग गर्दै विद्यमान आर्थिक, सामाजिक असमानताहरुलाई अन्त्य गर्दै एउटा न्यायमूलक र समतामूलक समाजको निर्माण गर्ने मुलुकको गन्तव्य रहेको बताए।
‘यो बजेटले नेपाली समाजमा रहेका उत्पादक शक्तिहरुको विकास र उत्पादन साधनहरुको अधिकतम प्रयोग गर्ने कुरामा त्यति ध्यान दिइएको छैन त्यसअर्थमा यो बजेट जहाँको तहीँ बस्छ,’ उनले भने।











