विष्णु पौडेललाई मिनेन्द्रको जवाफ– संसद छलेर ल्याइएको बजेटसँग अहिलेको बजेट तुलना गर्नु उचित हुँदैन
‘प्रतिनिधि सभाबाट अनुमोदन गर्ने बजेटलाई संसद छलेर, संसद विघटन गरेर बजेट पनि भन्न नमिल्ने गरी सार्वजनिक खर्चको जानकारी भनेर प्रस्तुत गर्नुपर्ने परिस्थितिसँग तुलना गर्नु उचित भएन।’
काठमाडौं, जेठ १७ : नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अघिल्लो वर्षको बजेटसँग अहिलेको बजेट तुलना नहुने बताएका छन्।
मंगलबार संसदमा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै रिजालले एमाले सांसद विष्णु पौडेलको अभिव्यक्तिको खण्डन गर्ने क्रममा सो बताएका हुन्। उनले अघिल्लो सरकारले संसद छलेर÷विघटन गरेर ल्याएको बजेटसँग प्रतिनिधि सभाबाट पारित गरिने बजेटको तुलना गर्न नहुने बताए ।
छलफलका क्रममा पूर्व अर्थमन्त्री समेत रहेका एमाले सांसद विष्णु पौडेलले चुनावी सरकारले पूर्ण बजेट ल्याएको र मतदाता रिझाउने बुँदा समावेश गरिएको भन्दै आलोचना गरेका थिए। त्यसको खण्डन गर्दै रिजालले भने– पोहोर साल संसदबाहिरबाट बजेट प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो?’
रिजालले अगाडि भने, ‘प्रतिनिधि सभाबाट अनुमोदन गर्ने बजेटलाई संसद छलेर, संसद विघटन गरेर बजेट पनि भन्न नमिल्ने गरी सार्वजनिक खर्चको जानकारी भनेर प्रस्तुत गर्नुपर्ने परिस्थितिसँग तुलना गर्नु उचित भएन।’
उनले कोभिड महामारी उत्कर्षमा पुगेको र खोपको सुरुवातसम्म नभएको समयमा पूर्ववर्ती सरकारले अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुने महत्वाकांक्षी लक्ष्य लिएकोमा अहिलेको सरकारले ८ प्रतिशत पुर्याउने लक्ष्य लिनु स्वाभाविक रहेको समेत बताए।
अर्थतन्त्रका चुनौतीलाई को सत्तामा छ र छैन भनेर परिवर्तन नहुने पनि रिजालले बताए। ‘यसका बारेमा गम्भीर छलफल गर्न हामी जहिले पनि तयार हुनुपर्छ,’ उनले भने,‘कोभिड पछिको लयमा फर्कँदै गएको अर्थतन्त्रमा आयात बढ्नु स्वाभाविक हो। उद्योग, व्यवसायी र आम नागरिकलाई चाहिन्छ । स्वाभाविक हो, केही महिनाभित्र करेक्सन आफै हुन्छ।’
वृद्धाभत्ता नबढाइए प्रति पौडेलले चिन्ता गरेप्रति रिजालले सरकार फेरिएका कारण एजेण्डा र कार्यक्रम परिन फेरिएको बताए। ‘सरकार फेरिएको छ तपाईका घोषणाको कार्यक्रम कसरी आउँछ ?’, उनले प्रश्न गरे।
‘बजेटले कृषि क्षेत्रमा मुलतः आयात प्रतिस्थापन, उत्पादन वृद्धिका लागि जुन बाटो समातेको छ त्यो ठिक छ। तलब वृद्धि स्वाभाविक थियो, ढिलो भएको थियो, तलब वृद्धिमा खुसी व्यक्त गर्नुबाहेक अर्को बाटो कसैसँग छ जस्तो लाग्दैन,’रिजालले भने ।
उद्योग क्षेत्रका लागि सरकारले ठिक बजेट ल्याएको रिजालको भनाई छ।‘करछुट, करदरको राहतका कुराले निश्चित रुपमा अर्थतन्त्रलाई चलायमान बनाउने छ । यो पाली आर्थिक वृद्धि ८ प्रतिशत पुग्छ । ८३८ मेगावाट सजिलै थपिन्छ। शिक्षा स्वास्थ्य विमा, दीर्घकालीन रोगीलाई सरकारले ल्याएको सुविधा ठिक छ,’ उनले भने।
पूर्वाधार निर्माणका लागि हावादारी सपनाभन्दा साँच्चिकै अर्थमा एउटा बाटो समातेको उनले बताए।











