असाेजसम्म काठमाडौंमा मेलम्चीको पानी नआउने
काठमाडौं, जेठ १७ : काठमाडौंमा आगामी असाेजसम्म मेलम्चीको पानी आउन बन्द भएको छ। सरकारले वर्षायाम सुरु भएसँगै मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित...
काठमाडौं, जेठ १७ : काठमाडौंमा आगामी असाेजसम्म मेलम्चीको पानी आउन बन्द भएको छ। सरकारले वर्षायाम सुरु भएसँगै मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मुल ढोका बन्द गरेसँगै असाेज मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी नआउने भएको हो।
बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो । सोही अनुसार मंगलबार सुरुङको मुख बन्द गरिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
आयोजनाले आजै खानेपानी मन्त्रालयसँग समन्वय गरी बर्खाभर पानी ल्याउन नसकिने सूचना जारी गर्ने उनले बताए। उनले मेलम्ची खोलाको पानी धमिलो हुन थालेको र सुरूङमा क्षति नहोस् भनेर पानी ल्याउन रोकिएको बताए।
गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार असोज मसान्तसम्मका लागि बन्द गरिएको र त्यो बेलाको् मौसम हेरेर नियमित वर्षा रोकिएपछि मेलम्चीको ढोका खोलिनेछ।











