Kathmandu Press

‘बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो’

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटबारे सामान्य छलफलमा भाग लिँदै पौडेलले पाँच महिनाको चुनावी सरकारले सिमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकार जसरी बजेट प्रस्तुत गरेको समेत आरोप लगाएका छन्। 
‘बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो’

काठमाडौं, जेठ १७ : नेकपा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले ल्याएको बजेट बजेटजस्तो नभई सत्तारुढ गठबन्धन दलको चुनावी घोषणा पत्र जस्तो भएको टिप्पणी गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटबारे सामान्य छलफलमा भाग लिँदै पौडेलले पाँच महिनाको चुनावी सरकारले सिमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकार जसरी बजेट प्रस्तुत गरेको समेत आरोप लगाएका छन्। 

यसबाट मंसिर महिनापछि आउने सरकार र सिंगो मुलुकलाई नै बोकिनसक्नुको आर्थिक पार पर्ने उनले बताए । उनले बजेट आगामी पाँच महिनाका लागि दैनिक प्रशासनिक खर्च, चालु आयोजनाको निरन्तरता र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक पर्ने खर्चका लागि स्रोत व्यवस्थापन र विनियोजनमा केन्द्रीत हुनपर्नेमा त्यस्तो नदेखिएको बताए।

पौडेलले संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा बजेट केन्द्रीत हुनेपर्नेमा यसलाई बेवास्ता गरी सस्तो लोकप्रियताका लागि अनुकुल ठानिएका र विना तयारीका दीर्घकालीन योजना तथा कार्यक्रमको चाङ लगाइएको बताए। ‘सारतः यो बजेट बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणपत्रजस्तो, चुनावी पर्चाजस्तो छ,’ उनले भने।

उनले बजेट आगामी निर्वाचनमा मतदातालाई भ्रममा पार्ने र भोट बटुल्ने उद्धेश्यले आएको समेत बताए। ‘राज्यशक्ति र राज्यको स्रोतलाई दलविशेष वा दलहरुको गठबन्धनको हितमा दुरुपयोग गर्न पाईँदैन, तर यहाँ त्यही नहुपर्ने भएको छ,’ उनले भने,‘ राज्यको स्रोतलाई आफ्नो पक्षमा मतदाता रिझाउन दुरुपयोग गरिएको छ । यस अर्थमा प्रस्तुत बजेटले बजेटको मर्ममाथि नै प्रहार गरेको छ।’ 
 

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्