एक खेल अगावै झापा बी डिभिजनमा बढुवा
काठमाडाैं, जेठ १६ : झापा एफसी बी डिभिजन लिगमा बढुवा भएको छ । सि डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा वीरगञ्ज युथ क्लबमाथि ५–०को...
काठमाडाैं, जेठ १६ : झापा एफसी बी डिभिजन लिगमा बढुवा भएको छ । सि डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा वीरगञ्ज युथ क्लबमाथि ५–०को जित निकाल्दै झापा एक खेल अगावै बी डिभिजनमा बढुवा भएको हो।
सातदाबोटोस्थित एन्फा कम्प्लेक्समा झापालाई जित दिलाउन पुजन राईले चार गोल गर्दा सन्तोष लावतीले पनि गोल गरे।
१३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मा सकिएको खेलमा झापाले दोस्रो हाफमा थप ४ गोल गर्दै सहज जित निकाल्यो।
६६औं मिनेटमा पुजनले गोल गर्दै झापाको अग्रता दोब्बर बनाए। ७४ औं मिनेटमा गोल गर्दै पुजनले आफ्नो ह्याट्रिक पुरा गरे। खेलको इन्जुरी समयमा सन्तोष र पुजनले गोल थपेपछि झाप एफसी ५–०ले विजयी भयो ।
जितसँगै १२ खेलमा ३१ अंक जोडेको झापा शीर्ष स्थानमा छ । अन्तिम खेलमा पराजित भएपनि ऊ शीर्ष दुईमै रहने पक्का छ। यता, झापासँग हारेको वीरगञ्ज युथ क्लब भने रेलिगेसनमा परेको छ। १२ खेलबाट ५ अंक जोडेको वीरगञ्ज १३औं स्थानमा छ ।
दोस्रो स्थानमा रहेका प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमी मध्ये एक टिम पनि बी डिभिजनमा बढुवा हुने छन्। दुवैको समान २८ अंक छ । अन्तिम खेलमा झापाले स्वयम्भु क्लबसँग खेल्दा प्लानिङ ब्वाइजले ओसिस क्लब र आरसी ३२ ले स्पोर्टस् एकेडेमी साँगासँग खेल्नेछ ।











