वडाध्यक्षलाई बालेनको निर्देशन : फोहोर छुट्याएर राख्न वडावासीलाई प्रेरित गर्नुस्
उनले फोहोर व्यवस्थापनका लागि वडाध्यक्षहरुले पनि भूमीका खेल्नुपर्ने बताए ।
काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्।
शपथ र पदभार ग्रहणपछि सोमबार बसेको नगरसभाको बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको फोहोरको असर सिसडोल र बञ्चरेडाँडाका स्थानीले खेप्नुपरेको बताउँदै यसको दीर्घकालिन समाधान खोजिनुपर्ने बताएका हुन्।
उनले पच्चीस तीस बर्षदेखि काठमाडौंको अर्गानिक फोहरलाई मल बनाउने कुरा चलिरहेको भएपनि अहिलेसम्म नभएको अवस्थामा आगामी दिनमा सो विषयलाई प्राथमिकतामा राखेर फोहोरलाई मल बनाउने प्रकृया थालिने बताए । ‘उपकरण ल्याएर तत्काल प्रकृया अगाडि बढाउन सकिन्छ, महानगरमा त्यसका प्रपोजल पनि होला, त्यो पनि अध्ययन गरेर अगाडि बढौं,’ उनले भने।
उनले फोहोर व्यवस्थापनका लागि वडाध्यक्षहरुले पनि भूमीका खेल्नुपर्ने बताए । वडावासीहरुलाई फोहरलाई छुट्टाछुट्टै राख्न प्रेरित गर्न उनले वडाध्यक्षलाई निर्देशन दिँदै भने, ‘तपाईँ जुन वार्डमा बस्नुहुन्छ, त्यो वार्डका स्थानीयलाई प्रेरित गर्नुपर्यो । दुई–तीनवटा बाकसमा फोहोर छुट्याउन सकिन्छ। छुट्टाछुट्टै राखियो भने सुक्खा फोहरलाई हप्तामा एकचोटीमात्रै उठाउँदा पनि भयो।’
उनले महानगरमा सार्वजनिक शौचालयको व्यवस्था गर्नका लागि होटल र रेस्टुरेन्टहरुसँग कुराकानी गरेको बताए ।
नगरसभा बैठकमा मेयर र उपमेयरले आफ्नो भनाई र एजेण्डा राखेपछि वडाध्यक्षहरुले आफ्ना वडाको समस्या र समाधानका उपायसहितको राय सुझाव प्रस्तुत गरिरहेका छन् । नगरसभाको बैठक पहिलोपटक प्रत्यक्ष प्रसारण गरिएको छ।











