Kathmandu Press

विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन 

एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने रहेका छन्।
विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन 

काठमाडौं, जेठ १६ : सरकारले तारा एयरको विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो। 

आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने रहेका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘गैरसैनिक हवाई दुर्घटना जाँच नियमावली, २०७१ को नियम ११ बमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन दुर्घटना जाँच इन्चार्ज रहने गरी देहाय बमोजिमको दुर्घटना जाँच आयोग गठन गर्ने नेपाल सरकारमा मन्त्रीस्तरबाट मिति २०७९÷०२÷ १६ मा निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।  

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको  विमान  सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनामा उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको बताइएको छ। सोमबार दिउँसो उद्धार टोलीले सबै शवलाई काठमाडौं ल्याउने तयारी गरेको छ।

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्