निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं, जेठ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्। चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा...
काठमाडौं, जेठ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्।
चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन्।
बलात्कार जस्तो अपराधीलाई क्षमा दिन नसकिने भन्दै उनले ढिलो चाडो अपराधीलाई कानूनी कठघरमा उभ्भाइने उल्लेख गरे । प्रधानमन्त्री देउवाले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको जानकारी दिए।
संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उनले बताए।
प्रधानमन्त्री देउवाले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने धारणा राखे।
कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।











