विमान दुर्घटना : प्रतिकुल मौसमका कारण उद्दारमा कठिनाइ, दुई हेलिकोप्टर डाइभर्ट
दुर्घटनास्थलमा उद्दार टोली पठाउन कैलाश र डाइनास्टी एअरको हेलिकप्टर परिचालन भएपनि प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको बताइएको छ ।
काठमाडौं, जेठ १६ : मौसम खराबीका कारण तारा एअरको विमान दुर्घटनास्थलमा उद्दार टोली पठाउन समस्या देखिएको छ । विमानमा सवार यात्रुको खोजी र मृत्यु भएकाहरुको शव संकलनका लागि थप उद्दार टोलीसहितको हेलिकप्टर पठाउन खोजिए पनि प्रतिकुल मौसमका कारण टोली पठाउन कठिनाई भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा उद्दार टोली पठाउन कैलाश र डाइनास्टी एअरको हेलिकप्टर परिचालन भएपनि प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको बताइएको छ । तीन पटकसम्मको प्रयास असफल भएपछि दुबै हेलिकप्टर डाइभर्ट भएका छन् । उद्दार टोली पठाउनकै लागि जोमसोम विमानस्थलमा फिस्टेल एयरको हेलिकप्टर स्ट्याण्ड बाइ राखिएको छ ।
यसअघि फिस्टेल एयरको हेलिकप्टरले नेपाली सेना र प्रहरीको टोलीलाई दुर्घटनास्थल नजिकै उतारेको थियो । उक्त टोली दुर्घटनास्थलमा पुगेर शव संकलन र खोजी कार्य गरिरहेको बताइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पनि १५ जनाको टोलीलाई ११ हजार फिटको उचाइमा उतारेको छ । ती टोली पनि स्थलमार्गबाट दुर्घटनास्थल पुग्दै छ।
दुर्घटनामा सबै जनाको मृत्यु भएको आशंका गरिएको छ । आधिकारिक विवरण भने सार्वजनिक भएको छैन । दुर्घटनास्थलबाट शव सिधै काठमाडौं ल्याइने र परिवारको जिम्मा लगाइने बताइएको छ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।
सोमबार बिहान यार्सागुम्बा संकलन गर्ने किसानले दुर्घटनाग्रस्त जहाजको अवशेष फेला पारेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली हेलिकोप्टरमार्फत त्यसतर्फ गएका थिए ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र एअर होस्टेज किस्मी थापा थिइन् ।











