यी हुन सन् २०१९ मा स्वस्थ कामकाजी क्षेत्रमा सुचिकृत भएका सहरहरु
आधुनिक युगमा काम, घर र आफ्नो रूचिका कामका लागि समय जुटाउन गाह्रो बन्दै गएको छ। यसले जीवनको गुणस्तर पनि घट्दै गएको छ।
मरिमरि काम गर्नुभन्दा “स्मार्ट&rdq....
आधुनिक युगमा काम, घर र आफ्नो रूचिका कामका लागि समय जुटाउन गाह्रो बन्दै गएको छ। यसले जीवनको गुणस्तर पनि घट्दै गएको छ।
मरिमरि काम गर्नुभन्दा “स्मार्ट” भएर काम गर्नुको महत्त्वलाई बुझेर वायरलेस सेक्युरिटी निर्माता किसिले विश्वमै सबैभन्दा सन्तुलित कामकाजी जीवन भएका शहर पत्ता लगाउन एउटा अध्ययन गरेको छ। विश्वभरिका ४० ओटा शहरको विश्लेषणबाट “सिटिज फर द बेस्ट वर्कलाइफ ब्यालेन्स २०१९” सूचकाङ्क तयार गरिएको छ। यसले कामको सघनता, संस्थागत सहयोग, विधायन र बस्न योग्य वातावरणको आधारतमा जीवन र कामबीच सन्तुलन भएको स्थान निर्धारण गरेको छ। सूचकाङ्कले स्थानीयवासीको कामसम्बन्धी तनाव कम गर्न शहरलाई सहयोग पुग्ने गरि तयार गरिएको छ।
यसमा काममा आइपुग्ने औसत समय, विदा लिएको औसत दिनहरू, कार्यालय आउजाउ गर्न लाग्ने समय, मानसिक स्वास्थ्य स्याहारको पहुँच, लैङ्गिक समानता, शहरको तनाव, वायु प्रदुषक लगायतका तथ्याङ्क समावेश छ।
कामकाजी जीवनको सन्तुलनका लागि शीर्ष वरियतामा परेका शहरहरू:
- हेल्सिन्की, फिनल्यान्ड
- म्युनिख, जर्मनी
- ओस्लो, नर्वे
- ह्यामबर्ग, जर्मनी
- स्टकहोम, स्विडेन
सूचीको तल्लो स्थानमा रहेका शहरहरूस्
- ह्युस्टन, अमेरिका
- एट्लान्टा, अमेरिका
- ब्युनोस एयर्स, अर्जेन्टिना
- टोकियो, जापान
- क्वालालम्पुर, मलेसिया
स्पेन, फ्रान्स, जर्मनी, ब्राजिल र फिन्ल्यान्डका कर्मचारीले विदाको सबैभन्दा धेरै फाइदा लिने पत्ता लागेको छ। उनीहरूले उपलब्ध हुनेभन्दा धेरै विदा मनाउने गरेका छन्। जापान, अमेरिका, मलेसिया, अष्ट्रेलिया र सिंगापुरका कर्मचारीले सबैभन्दा थोरै विदा लिने गरेका छन्।
सिंगापुर, क्वालालम्पुर, टोकियो, हङकङ र ब्युनोस एयर्समा कामदारले सबैभन्दा धेरै काम गर्ने गरेका छन्। सिंगापुरवासी सातामा औसत ४४.६ घण्टा काम गर्ने गर्छन् भने २३ प्रतिशतले प्रत्येक साता ४८ घण्टाभन्दा धेरै काम गर्छन्। ओस्लो, बुडापेस्ट, मिलान र बार्सिलोनामा त्यसको विपरीत छ जहाँ ४ प्रतिशत मानिसहरू सातामा ४८ घण्टाभन्दा धेरै काम गर्छन्।
शहरको लैंगिक समानताको अवस्था पत्ता लगाउन किसिले महिला र पुरूषबीच आर्थिक अवसर र सहभागिताको अन्तर, शैक्षिक योग्यता, स्वास्थ्य र राजनीतिक सशक्तिकरणसम्बन्धी तथ्याङ्क प्रयोग गरेको छ। ओस्लोमा सबैभन्दा धेरै लैंगिक समानता देखिएको छ। सूचीमा त्यसपछि क्रमशः स्टकहोम, हेल्सिन्की, पेरिस र म्युनिख रहेका छन्।
गुणस्तरीय स्वास्थ्य सेवाको सवालमा सिड्नी, अष्ट्रेलिया शीर्ष स्थानमा छ भने ओस्लो, नर्वेको मानसिक स्वास्थ्य सेवा सबैभन्दा अब्बल रहेको पाइयो। त्यसैगरि, फ्रान्सको राजधानी पेरिसले सामाजिक कार्यका लागि सबैभन्दा धेरै खर्च गर्ने गरेको खुलेको छ। पेरिसले वार्षिक कुल ग्राहस्थ उत्पादनको ३२ प्रतिशत सामाजिक प्रयोजनका लागि खर्च गर्ने गरेको छ।
सामाजिक तथा विधायनको स्तरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समानता निर्धारण गर्दा किसिले समान अधिकार, विभेद विरूद्धका सुरक्षा, सुरक्षाको स्तर र समुदायप्रति हुने मित्रवत व्यवहार लगायतका मुद्दालाई ध्यान दिएको छ। स्विडेनको राजधानी स्टकहोमले उत्कृष्ट सय अंक प्राप्त गरेको छ। त्यसपछि टोरोन्टो, लन्डन र बार्सिलोना सूचिमा आएका छन्। क्वालालम्पुर, सिंगापुर, साओ पाउलो र टोकियोमा लैङ्गिक समानताको अवस्थामा सबैभन्दा कमजोर रहेको अध्ययनले देखाएको छ।
नागरिकको समग्र खुशी, सुरक्षा तथा मनोरञ्जनको पहुँचको आधारमा किसिले शहर कति बस्नयोग्य छ भनेर निर्धारण गरेको छ। कार्यालयको समयपछि उनीहरूले कति रमाइलो गर्न पाउँछन् त्यसको आधारमा मुल्याङ्कन गरिएको छ। सुरक्षा र प्रशस्त सार्वजनिक स्थलका लागि सिंगापुर सबैभन्दा शीर्षस्थानमा छ। हेल्सिन्की, फिन्लयान्ड सबैभन्दा खुशी शहर र साउ पाउलो ब्राजिलमा सबैभन्दा कम तनाव भएको अध्ययनमा देखिएको छ। मोटोपन र औसत राष्ट्रिय आयुको आधारमा ज्युरिख, स्विट्जरल्यान्ड अग्रस्थानमा छ। लन्डनले सबैभन्दा बढि साँस्कृतिक विविधता र जीवनशैली दिएको अध्ययनले देखाएको छ।