६ घन्टा बितिसक्दा पनि भेटिएन तारा एयरको विमान, पोखरा विमानस्थलमा आफन्तको विलाप
विमान बेपत्ता भएको ६ घन्टा बितिसक्दा पनि फेला पर्न नसकेपछि पोखरा विमानस्थलमा यात्रुका आफन्तको रुवाबासी चलेको छ ।
काठमाडौं, जेठ १५ : पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको नाइन एनईटी ट्वीनअटर विमानको अवस्था अझै पत्ता लाग्न सकेको छैन । चालक दलसहित २२ जना यात्रु सवार विमान बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।
विमानको खोजीका लागि सुरुवातमा फिष्टेल एयरको हेलिकप्टर परिचालन गरिएको थियो । खराब मौसमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किसकेको छ । विमान खोजीकै लागि केहीबेरअघि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण गरेको छ।
नागरिक उड्डयन प्राधिकरणले विमानका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइल ट्र्याक गर्दा सोही आसपासमा लोकेशन देखाएका कारण सेनाको हेलिकप्टर अवतरण गरि खोजी कार्य सुरु गरेको हो। बेपत्ता विमान खोजीका लागि १० जना सैनिक हेलिकप्टरबाट ओर्लिएर मोबाइल लोकेशन पत्ता लागेको ठाउँतिर गएको बताइएको छ ।
विमान बेपत्ता भएको ६ घन्टा बितिसक्दा पनि फेला पर्न नसकेपछि पोखरा विमानस्थलमा यात्रुका आफन्तको रुवाबासी चलेको छ । विमान वेपत्ता भएको खबर सुनेर यात्रुका आफन्तहरु पोखरा विमानस्थलमा जम्मा भएका हुन् ।
विमानमा १३ नेपाली नागरिक र ६ जना विदेशी नागरिक सवार थिए । विमानमा सवार यात्रुहरुमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन्।
यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने विमानमा को(पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन्।











