नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले सीमा सम्बन्धी विषयलाई पनि नीति तथा कार्यक्रममा उचित स्थान दिएको बताएका छन्।
काठमाडौं, जेठ १४ : प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली भूमि रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमा सम्बन्धी विषयलाई पनि नीति तथा कार्यक्रममा उचित स्थान दिएको बताएका छन्।
प्रधानमन्त्री देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत स्पष्ट पारे। उनले यही अनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् ।
उनले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको र नेपाल सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा सम्बन्ध अघि बढाइरहेको पनि बताए।
उनले नेपाल सरकार एक चीन प्रति नेपाल प्रतिबद्ध रहेको र बीआरआई परियोजनालाई अघि बढाउन गम्भीर रहेको पनि जानकारी दिए ।











