सरकारको क्रियाशिलताले महामारी नियन्त्रण गर्न सफल भयाैं : प्रधानमन्त्री
‘कोभिड १९ को कारण मानव स्वास्थ्य लगायत समग्र आर्थिक, समाजिक क्षेत्रमा परेको प्रतिकुल असरलाई सम्बोधन गर्न सरकारले सरल रुपमा चालेको कदममार्फत सम्बोधन गरेकाले नेपाली जनतामा आशा र उत्साह बढेको छ।’
काठमाडौं, जेठ १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप खरिद र वितरणमा सरकारको क्रियाशिलताले कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न सफल भएको बताएका छन्।
संसदमा प्रस्तुत गरिएको आर्थिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले महामारी नियन्त्रणमा आउँदा नागरिकको जीवन रक्षा हुनुका साथै आर्थिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काउन सकिएका कारण सरकारमाथि जनताको भरोसा बढेको बताए।
‘कोभिड १९ को कारण मानव स्वास्थ्य लगायत समग्र आर्थिक, समाजिक क्षेत्रमा परेको प्रतिकुल असरलाई सम्बोधन गर्न सरकारले सरल रुपमा चालेको कदममार्फत सम्बोधन गरेकाले नेपाली जनतामा आशा र उत्साह बढेको छ,’ उनले भने।
संसदबाट विश्वासको प्रस्ताव राख्दा सबै नेपालीलाई खोप उपलब्ध गराउने प्रतिवद्धता राखेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने,‘ उक्त लक्ष्यको नजिक पुग्दा खुसी लागेको छ।’











