निजगढ विमानस्थल निर्माण रोक्ने फैसलाको स्वागत गर्दै दीप प्रज्वलन
काठमाडौं, जेठ १४ : टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको आदेशको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ...
काठमाडौं, जेठ १४ : टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको आदेशको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै दीप प्रज्जवलन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरुले अघि सारेको माग र आवाज आज आएर पूरा भएको बताए । उनले अदालतको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको टिप्पणी गरे।
उनले विकल्प हुँदाहुँदैपनि निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजिएकोमा आफूहरुले धेरै पहिलेदेखि नै विरोध जनाएको स्मरण गराए। प्रधानले तत्काल सामूदायिक वन समिति खोलेर टाँगियावासीलाई वनको उपभोग गर्ने वातावरण पनि राज्यले बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, वातावरण विज्ञ बाबुराम यादवले निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल खारेज नगरेर त्यसको विकल्प खोज्न भनेर अदालतले फैसला गरेको जानकारी दिए।











