फैसला उल्टिएपछि पूर्व डीआईजी कोइराला पक्राउ
सर्वोच्चको फैसला आएलगत्तै कोइराला सम्पर्कविहीन भएका थिए।
काठमाडाैं, जेठ १३ : सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।
शुक्रबार साँझ काठमाडौंको नयाँ बानेश्वरबाट कोइराला पक्राउ परेका हुन् । उनलाई बानेश्वरकै एक घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन् ।
श्रीमती गीताको हत्या अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि गत २०७७ साउन ८ गते छुटेका थिए । त्यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिएको थियो।
तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो।
सर्वोच्चको फैसला आएलगत्तै कोइराला फरार भएका थिए । उनलाई नियन्त्रणमा लिएसँगै थप कारवाहीको प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ।











