बालेनलाई बधाई दिँदै स्थापितले भने – पटकपटक लडेर पनि धुलो टक्टकाएर उठेको व्यक्ति हुँ
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु’
काठमाडौं, जेठ १३ : काठमाडौं महानगरपालिको मेयरमा पराजित एमालेका केशव स्थापितले नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोललार्ई बधाई दिएका छन् । उनले लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको पनि बताएका छन्।
‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन् । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु।’
उनले नवनिर्वाचित मेयर शाहले काठमाडौंवासीको मतलाई सम्मान गर्ने अपेक्षा रहेको बताए ।‘ काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ उनले भने ।
उनले पाँच वर्षे कार्यकालमा विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्ने अपेक्षा रहेको बताए। यसमा आफ्नो पनि रचनात्मक सहयोग हुने बताउँदै कमिकमजोरीमा भने निरन्तर खबरदारी गरिरहने बताए।











