बालेनको जितले राजनीतिक दललाई जबरजस्त दबाब दिएको छ : महामन्त्री शर्मा
काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेनको विजयले राजनीतिक दलहरुमाथि सकारात्मक दबाब दिएको बताएका छन्। उनले बदलिएको समय अनुरुप...
काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेनको विजयले राजनीतिक दलहरुमाथि सकारात्मक दबाब दिएको बताएका छन्।
उनले बदलिएको समय अनुरुप राजनीतिक दलका प्रवृत्ति बदलिन नसक्दा जनताले विकल्प रोजेको बताएका छन् । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धती सबैको जिम्मेवारी हो,’ उनले भनेका छन्।
शर्माले जनताले व्यवस्थाकै विकल्प नखोजेको पनि बताएका छन्। ‘अवस्था’ प्रति रुष्ट मतदाताले व्यवस्थाकै विकल्प खोज्न चाहनेलाई खोजेनन् । नत्र वैकल्पिक राजनीतिको नारा सहितको दल र उम्मेदवारको उपस्थिती मैदानमा थियो अनि व्यवस्थाकै विकल्पको नारा सहितको दल र उम्मेदवार पनि मैदानमा थिए,’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ।
शर्माले काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसात् गर्न पनि अनुरोध गरेका छन् । साथै जनताका काममा जननिर्वाचित मेयर बालेनलाई सघाउनुपर्ने पनि बताएका छन्।











