धनगढी सुपर लिग : महेन्द्रनगर र देउखुरी वारियर्स विजयी
धनगढी, जेठ १२ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब...
धनगढी, जेठ १२ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन्। आज भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङ्गल क्रिकेट क्लब बझाङलाई पाँच विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ सुरु गरेको बुङ्गलले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२७ रन बनाएको थियो। एक सय २८ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले १५.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि राहुल भण्डारीले ४६ र सन्दीप जोराले अविजित ३७ रनको पारी खेले। बलिङतर्फ बुङ्गलका गोविन्द विष्टले दुई विकेट लिए।
त्यसअघि बुङ्गलका लागि किरणकुमार ठगुन्नाले ५० रनको अर्धसतकीय पारी खेलेका थिए। उसका सन्दीप विष्टले ३२ र आदित्य महताले २० रन बनाए। बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्ट र सन्दीप जोराले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ सन्दीप जोरा चुनिए। त्यस्तै आजै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमी माथि दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले नौ विकेटको जीत निकाल्यो।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो। एक सय १५ रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले ११.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका सुरुआती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे। १०औँ ओभरमा विराट भण्डारी २४ रन बानाएर बोल्ड आउट हुन पुगेका थिए। प्रज्वल थापाले भने सात चौका र छ छक्कासहित ७७ रनको अविजित सानदार पारी खेले।
त्यसअघि धनगढी क्रिकेट एकेडेमीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ देउखुरीका प्रतिश जिसीले चार ओभर बलिङ गर्दै १४ रन खर्चिएर तीन विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ प्रज्वल थापा भए।
प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा शुक्रबार महेन्द्रनगर क्रिकेट एकेडेमी र देउखुरी वारियर्स प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलको विजेताले लिटल फ्लावरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लिटल फ्लावर यसअघि नै पाँचमध्ये तीन खेलमा जीत निकाल्दै सात अङ्कसहित फाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगिताको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा देशका विभिन्न छ वटा क्लब बुङ्गल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहेको बताइएको छ।











