हाम्रो तीव्र दबाबका कारण निर्वाचन समयमै सम्पन्न भयो : ओली
बिहीबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा ओलीले एमालेको तीव्र दबाव र निर्वाचन आयोगको अडानकै कारण तोकिएको मितिमा निर्वाचन सम्पन्न भएको बताए।
काठमाडौं, जेठ १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको दबाबका कारण निर्वाचन समयमै सम्पन्न भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा ओलीले एमालेको तीव्र दबाव र निर्वाचन आयोगको अडानकै कारण तोकिएको मितिमा निर्वाचन सम्पन्न भएको बताए।
उनले निर्वाचन हुनुअघि निर्वाचन सार्ने खेल भएको बताए । ‘समयमा निर्वाचन नगर्ने र स्थानीय तहलाई एक वर्ष सम्म रिक्त राख्ने गठबन्धन सरकारको तयारी थियो, त्यो हुन पाएन, जे होस् निर्वाचन भयो,’ उनले भने।
ओलीले संविधानतः स्थानीय तहको निर्वाचन जनप्रतिनिधिको कार्यकाल सकिनु अघि नै गर्नुपर्ने बताए । राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गरेर तयारी अवस्थामा राख्छौं,स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै हुनुपर्ने हो तर भएन,’ उनले भने।