हिलापोखरीमा बिजुली बलेपछि खुशियाली
म्याग्दी, कात्तिक ११ : म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प....

म्याग्दी, कात्तिक ११ : म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पुर्याइएको हो। साविक ताकम गाविसको वडा नम्बर ७ मा पर्ने हिलापोखरीका ६५ घरमा आइतबार साँझदेखि बिजुली बलेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए।
“लक्ष्मी पूजाको दिनमै बिजुली बाल्न पाउँदा खुशियाली छाएको छ”, मल्लले भने, “बिजुलीले गाउँ झिलीमिली भएको छ।” उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ। यसअघि हिलापोखरीमा इन्धनबाट जेनेरेटर चलाएर फर्निचर उद्योग सञ्चालन गरिएको थियो।
स्थानीयवासीले खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन्। यसअघि उनीहरूले उज्यालोका लागि पेल्ट्रिक सेट, सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए। गत महिना साविक ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २२० घरमा बिजुली बलेको थियो।
ताकम विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीका अनुसार साविक ६, ८ र ९ नम्बर वडाका थप ३०० घरमा तिहारलगत्तै विद्युत पुर्याउने तयारी भएको छ। धारापानीका २०१ घरमा गत वर्ष विद्युत पुगेको थियो। विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने ट्रान्सफर्मर जडाने र ढुवानीको काम गरेको थियो। गाउँपालिकाबाट गत आर्थिक वर्षमा बिनियोजन भएको ८० लाखमध्ये ५७ लाख रूपैयाँ खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए।
उक्त गाउँपालिकामा विद्युत उपलब्ध गराउन सङ्घीय सरकारले गत वर्ष चार करोड ५० लाख रुपैयाँ उपलब्ध गराएकामा ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ वटा पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी र करिब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानिएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनीयर हेमराज चापागाईंले बताए। ताकमका साथै मुना हुँदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको छ।
यस वर्ष प्रदेश सरकारले उक्त गाउँपालिकाका लागि दुई करोड ८१ लाख विनियोजन गरेको थियो। मराङको ७५ घरमा पनि गत हप्ता उपलब्ध गराइएको थियो।












