Kathmandu Press

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

धनगढी, जेठ ११ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्। आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ। लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए। उनको अलराउन्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो।

प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर लिटल फ्लावरका बोहराले पावर प्लेमै पाँच महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गराएपछि देउखुरी १५.२ ओभरमा ६० रनमै अल आउट हुनपुग्यो। ६१ रनको सामान्य विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले ६.२ ओभरमा विना कुनै विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो। उसका लागि उत्कृष्ट बलिङ गरेका बोहराले ब्याटिङतर्फ २३ बलमा सात चौकाको मद्दतले ३६ रनको अविजित पारि खेले। उसका मनिष थापाले अविजित १९ रन बनाए।

त्यसअघि देउखुरीका लागि दिनेश अधिकारी र दिवान पुनले १७/१७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। देउखुरीलाई सस्तैमा समेट्न लिटल फ्लावरका बोहराले चार ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन खर्चिएर महत्वपूर्ण पाँच विकेट लिए। इनिङको पहिलो ओभर एक रनमा विकेटविहीन रहँदा दोस्रो ओभरमा आएका बोहराले प्रज्वल थापालाई एक र देउखुरीका कप्तान विशाल विक्रम केसीलाई चार रनमा बोल्ड आउट गरे।

त्यसपछि चौथो ओभरमा बोहराले वसन्त सिंह कार्कीलाई शून्य रनमा बोल्ड गरिदिए। उनैले व्यक्तिगत अन्तिम र खेलको छैटौँ ओभरमा विराट भण्डारीलाई एक रनमा बोल्ड आउट र नारायण जोशीलाई शून्य रनमै क्याच आउट गराउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। उसका कौशल रुपाखेतीले तीन र प्रकाश जैसी तथा सन्दीप खत्रीले एक/एक विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ अलराउन्ड प्रदर्शन गरेका बोहरा चुनिए।

त्यस्तै आजै भएको दोस्रो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीमाथि कैलाली जिल्ला क्रिकेट क्लबले छ विकेटको जीत निकाल्यो। टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो। १२१ रनको विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लबले १७ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि राजन सिंहले अविजित ४० रन बनाउँदा दिनेश ओडले ३० रन बनाए। अर्जुन साउदले २४ रन बनाए।

त्यसअघि महेन्द्रनगरका लागि आयुष्मान बमले ३४ र राहुल भण्डारीले २१ रन बनाएका थिए। बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका अर्जुन साउद, नरेन साउद र शेर मल्लले समान दुई/दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ अर्जुन साउँद चुनिए। प्रतियोगितामा देशका विभिन्न छवटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागी रहेको बताइएको छ।

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्