ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु : प्रमुख महर्जन
ललितपुर, जेठ ११ : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता...
ललितपुर, जेठ ११ : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोको उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका वडा विकासमा केही पछि रहेको उल्लेख गरे। सबै वडामा सामञ्जस्यता ल्याउन थपिएका वडामा बढी बजेट विनियोजन गर्ने योजना रहेको उनले बताए। वडास्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साबिक गाविसभन्दा बढी विनियोजन हुने उनले बताए।
प्रमुखका रुपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गरेका छन। वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए। उनका अनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो। अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए। तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए। राजश्व सङ्कलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय भएको छ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताए। आफूले उपप्रमुखका रुपमा जेजे जिम्मेवारी छ नीति र विधिमा बसेर पारदर्शी रुपमा काम गर्ने उनको प्रतिबद्धता छ।











