अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित भयौं : ओली
बुधबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्य दलका कारण नभई आफ्नै दलभित्र अन्तर्घात हुँदा चुनाव हारिएको बताएका हुन्।
काठमाडौं, जेठ ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रबाटै अन्तर्घात हुँदा स्थानीय तह निर्वाचनमा एमालेले पराजय भोग्नुपरेको बताएका छन्।
बुधबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्य दलका कारण नभई आफ्नै दलभित्र अन्तर्घात हुँदा चुनाव हारिएको बताएका हुन्।
उनले उपमहानगरपालिकामा उपमेयर जित्दा मेयर जित्न नसक्नुमा प्रश्नसमेत गरे । ‘हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं, यो अन्तर्घातको कारणले हो,’ अध्यक्ष ओलीको भनाईलाई उद्धृत गर्दै एक सांसदले भने। ओलीले यस विषयमा बृहत् रुपमा समीक्षा गर्नुपर्ने समेत बताएका छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको एमाले यसपटक फराकिलो अन्तरले दोस्रो शक्तिमा खुम्चिएको छ । अघिल्लो स्थानीय तहमा २९४ पालिकाको प्रमुख जितेको एमाले लगभग सबै स्थानीय तहको मतपरिणाम आइसक्दा २०४ स्थानीय तह जितेको छ ।
वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रियता दिएका हुन् । ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।











