जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई नेकपा (एस) को निर्देशन
काठमाडौं, जेठ ११ : नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न र जनताको हितलाई केन्द्रबिन्दुमा...
काठमाडौं, जेठ ११ : नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन दिएको छ।
पार्टी महासचिव वेदुराम भुसालले आज (बुधबार) विशेष परिपत्र जारी गर्दै जनताको विश्वासप्रति सधैँ इमान्दार रहन निर्देशन दिएका हुन्।
‘जनताको विश्वासप्रति सधै इमान्दार रहनुहोला । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला,’ परिपत्रमा उल्लेख छ, ‘निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला। ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारी र कर्तव्य निष्ठताका साथ जनताको सेवा गर्नुहोला।’
निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्न तथा सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्न पनि परिपत्रमा भनिएको छ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ।
‘जवाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो, जसले जनताको सेवामा समर्पित योद्धाहरूलाई ऊर्जा समेत प्रदान गर्दछ,’ परिपत्रमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टीका तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडले आगामी जेठ १७ भित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला।’
सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयको अनुगमन गर्न जिल्ला कमिटीहरूलाई पार्टीले निर्देशन दिएको छ।











