Kathmandu Press

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

नवलपपुर, जेठ ११ : स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा एमाले पहिलो पार्टी बनेको छ। जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो...
नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

नवलपपुर, जेठ ११ : स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा एमाले पहिलो पार्टी बनेको छ। जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो। 

आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ। एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ।

त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन्। नवलपुरमा एमालेका ५४ दशमलब ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन्। 

जिल्लामा नेपाली कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेस २०३ जनप्रतिनिधि निर्वाचित गराउँदै जिल्लामा दोस्रो ठूलो पार्टी बनेको हो। नवलपुरमा कांग्रेसले एउटा नगरपालिकामा नगरप्रमुख–उपप्रमुख दुवै पद, एउटा गाउँपालिका अध्यक्ष तथा दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ।

जिल्लाका ४१ वडामा कांग्रेसका तर्फबाट वडाध्यक्ष, ८० खुला सदस्य, ३८ महिला सदस्य तथा ३९ दलित महिला सदस्य निर्वाचित भएका छन्। जिल्लाका स्थानीय तहमा कांग्रेसको जनप्रतिनिधिको उपस्थिति ४२ दशमलब ६५ प्रतिशत रहेको छ। 

जिल्लामा माओवादी केन्द्रले दुई वडाध्यक्ष, दुई महिला सदस्य र एक दलित महिला सदस्य गरी जम्मा पाँच जनप्रतिनिधि मात्रै जितेको छ। यहाँको स्थानीय तहमा माओवादी केन्द्रका जनप्रतिनिधिको उपस्थिति एक प्रतिशत मात्रै रहेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा एउटा वडाध्यक्ष, चार खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य गरी सात जनप्रतिनिधि जितेको छ। राप्रपाको जिल्लाका स्थानीय तहमा उपस्थिति एक दशमलव ४७ प्रतिशत रहेको छ।

त्यसैगरी नवलपुरमा राष्ट्रिय जनमोर्चाले एक खुला सदस्य जितेको छ भने जिल्लाको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति शून्य दशमलव २१ प्रतिशत रहेको छ। 

पालिका प्रमुखमा एक मात्रै महिला

जिल्लाका आठ पालिकामध्ये एउटा पालिकामा मात्रै प्रमुखका रुपमा महिला निर्वाचित भएका छन्। नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा मात्रै महिलाको नेतृत्व पुगेको हो। यहाँ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। 

जिल्लाका अन्य स्थानीय तहको उपप्रमुख÷उपाध्यक्षमा भने महिला निर्वाचित भएका छन्। आठ स्थानीय तह रहेको नवलपुरमा एउटा गाउँपालिका अध्यक्ष, सात पालिका उपप्रमुख÷उपाध्यक्ष र तीन वडाध्यक्षमा महिला निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्