Kathmandu Press

रुकुम हत्याकाण्ड : ११ जना छुटे २३ जना थुनामा, न्याय खोज्दै आमाहरू काठमाडौंमा

‘गरिबले न्याय पाउन गाह्रो रहेछ, दुई वर्षदेखि भौँतारिरहे पनि न्याय पाउन सकिएन । जहाँ जानुपरे पनि जान्छौँ, ढिलोचाँडो न्याय पाए हुन्थ्यो ।’
रुकुम हत्याकाण्ड : ११ जना छुटे २३ जना थुनामा, न्याय खोज्दै आमाहरू काठमाडौंमा

काठमाडाैं, जेठ १० : रुकुम हत्या प्रकरण दुई वर्ष पुगेको छ। ६ युवाको नृशंस हत्या भएको यस घटनामा न्याय नपाएको भन्दै मृतकका आमाहरू यतिखेर काठमाडौं आइपुगेका छन्।

१० जेठ २०७७ को साँझ जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विश्वकर्मा आफ्नी प्रेमिकालाई लिन साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती भन्ने ठाउँमा गएका थिए। केटी पक्षकाको आक्रमणमा परी नवराजसहित लोकेन्द्र सुुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो भने १२ जना घाइते भएका थिए।

आफ्नो छोरा (लोकेन्द्र सुनार) लाई सम्झेर लक्ष्मी सुनार आज पनि निदाउन सक्दिनन्। छोराको हत्या भएको दुई वर्ष पुग्दा पनि न्याय नमिलेकाले उनी यतिखेर न्यायको माग गर्न काठमाडौं आएकी हुन्।

Hardik ivf

‘दुई वर्ष भइसक्यो, न्याय पाउन सकेका छैनौँ,’ लक्ष्मी भन्छिन्, ‘मुद्दालाई लापरबाही गरिएकाले काठमाडौं आउनुपरेको हो।’

लक्ष्मीसँगै अरु चार आमाहरू ४२ वर्षीया उर्मिला विक (मृतक नवराजकी आमा), ४६ वर्षीया सविता विश्वकर्मा (मृतक सन्दीपकी आमा), ४३ वर्षीया राधिका बुढामगर (मृतक गणेशकी आमा) र ३७ वर्षीया गीता नेपाली (मृतक टीकाराम सुनारकी आमा) सोमबार (जेठ ९) काठमाडौं आइपुगेका छन्।

उर्मिला (मृतक नवराजकी आमा) छोराको अनुहार झलझली आँखामा छाइरहने बताउँछिन्। ‘न्यायका लागि छोराको आत्मा भौँतारिरहेझैँ लाग्छ,’ उनी भन्छिन्, ‘छोराको मात्र ज्यान गएन, पूरै परिवारको जिन्दगी अन्धकारमय बन्यो।’

पीडा कम गर्न आफू, सविता, राधिका र गीता बेलाबेला एकै ठाउँमा भेटिएर सँगै रुने गरेको उर्मिला बताउँछिन्।

‘गरिबले न्याय पाउन गाह्रो रहेछ, दुई वर्षदेखि भौँतारिरहे पनि न्याय पाउन सकिएन,’ सविता भन्छिन्, ‘जहाँ जानुपरे पनि जान्छौँ, ढिलोचाँडो न्याय पाए हुन्थ्यो।’

सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आफूहरू काठमाडौं आएको सविता बताउँछिन्। ‘ठूला व्यक्तिलाई भेटेर गुनासो पोख्न पाए छिट्टै न्याय पाइन्थ्यो कि ?’ उनी भन्छिन्, ‘न्यायको आशा बोकेर आएका छौँ। अन्य घटनामा जस्तै केही समय लम्बाएर न्याय यसै हराउने पो कि भन्ने डरले सताइरहेको छ। हामी सकुन्जेल न्यायका लागि पहल गर्छौं।’

घटना के हो ?

०७७ जेठ १० गतेको यस घटना १३ जेठमा संघीय संसदमा प्रवेश गरेको थियो। त्यसलगत्तै देवेन्द्र पौडेलको संयोजकत्वमा ‘सोती घटना छानबिन संसदीय विशेष समिति’ समेत बनेको थियो।

संसदीय समितिको प्रतिवेदन अनुसार, नवराज र सोतीकी मल्ल थरकी किशोरीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। दुईबीच ०७५ देखि चिनजान भई मोबाइल तथा सामाजिक सञ्जालमार्फत निरन्तर सम्पर्क, सम्बन्ध हुने गरेको र पछिल्लोपटक ०७६ पुस १२ देखि १५ गतेसम्म युवती मृतक नवराजको घरमा समेत बसेकी थिइन्।

जेठ १० गते नवराज साथीहरूसहित केटीको घरनजिक पुग्दा केटीकी आमा प्रकाशी मल्लले ‘तँलाई डुम, फेरि आइस्, अझै पुगेन, तँलाई नमारी छाड्दैन’ भनी वडाध्यक्ष लगायत गाउँलाई गुहारेको प्रतिवेदनमा उल्लेख छ।

त्यसपछि खतरा महसुस गरी बेहुली लिन गएका नवराजसहितका केटाहरू आफ्नो बाटो लागे। किशोरीको घरदेखि पाँच सय मिटर तल घर भएका मानबहादुर मल्लले काफल र पानी खाएर जाउ भन्दा पनि केटाहरू रोकिएनन्। केटाहरू भेरी नदी नजिकैको मध्यपहाडी लोकमार्ग पुग्दा चारैतिरबाट जम्मा भएका गाउँलेको जत्थाले घेरा हाल्यो र घरेलु हतियार, आँसी, बन्चरो, लाठी, ढुंगाहरूले आक्रमण ग¥यो।

भाग्ने क्रममा गाउँलेले नवराज विश्वकर्मासहित ६ जनालाई लखेटी–लखेटी मारियो।

यस घटनामा ३४ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको अधिवक्ता यमकुमारी ददेल बताउँछिन्। ‘ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानका लागि मुलुकी अपराध संहिता र जातीय विभेदका लागि ‘जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसु र सजाय) ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भनिन्, ‘प्रमाणित भए यी दुवै ऐन अनुसारको सजाय हुन्छ, तर अहिले नै यति सजाय हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।’

अधिवक्ता ददेलका अनुसार, मुद्दा दर्ता गरिएकामध्ये अहिलेसम्म १० जना साधारण तारिखमा र एकजना एक लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् भने २३ जना थुनामै छन्। सर्वाेच्च अदालतले पाँच, उच्च अदालतले दुई र जिल्लाले चारजना गरी ११ जनालाई छाडेको छ। ‘केटीकी आमा प्रकाशी मल्ललाई एक लाख धरौटी र बाँकी तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, दीपेन्द्र चन्दलाई साधारण तारिखमा जिल्लाले छाडेको हो,’ अधिवक्ता ददेल भन्छिन्, ‘घटनामा उनीहरू संलग्न नभएको प्रमाणित भएकाले छाडिएका हुन्।’

केटी र केटीका भाइलाई नाबालिग भनेर बालगृहमा राखिएको थियो। नृशंस हत्या हुनुको कारण अन्तर्जातीय प्रेमसम्बन्ध रहेको अधिवक्ता ददेलको भनाइ छ।

अधिवक्ता ददेलका अनुसार, कोभिड र चुनावी कारणले केही ढिला भए पनि कानुनी प्रक्रिया अगाडि बढिरहेको छ। ‘अब छुट्ने सम्भावना भएका व्यक्ति कमै छन्,’ उनी भन्छिन्, ‘त्यसैले न्याय पाउने अपेक्षा छ।’

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्