धनगढी सुपर लिग : देउखुरी वारियर्स र कैलाली विजयी
कैलाली, जेठ १० : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट...
कैलाली, जेठ १० : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
आज भएको पहिलो खेलमा बझाङको बुङ्गल क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै देउखुरी क्लबले पहिलो खेलमै जीत निकालेको हो। मौसमको खराबीका कारण १२ ओभरमा छोट्याइएको खेलमा देउखुरी विजयी भयो।
टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। एक सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बुङ्गलले निर्धारित ओभरमा आठ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो। उसका लागि लोकेन्द्र चन्दले ३५ र प्रकाश पाण्डेयले ३४ रन बनाए। बलिङतर्फ देउखुरीका दिनेश अधिकारीले तीन र नारायण जोशीले दुई विकेट लिए।
त्यसअघि देउखुरीका लागि प्रज्ज्वल थापाले ३४, सुमित श्रेष्ठले अविजित २३, नारायण जोशीले २३ र विराट भण्डारीले २१ रन बनाए। बलिङतर्फ बुङ्गलका मिलन बोहरा र अशोक धामीले दुई/दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ देउखुरीका दिनेश अधिकारी घोषित भए।
त्यस्तै आजै भएको दोस्रो खेलमा धनगढी क्रीकेट एकेडेमीलाई १६ रनले पराजित गर्दै कैलाली जिल्ला क्रिकेट क्लब विजयी भयो। टस जितेर ब्याटिङ थालेको कैलाली क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो। एक सय ३४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी एकेडेमीले १८.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।
उसका लागि कप्तान राजु रिजालले ३३ बलमा चार छक्का र तीन चौकासहित ५१ रन, सुवास ऐरले २९ र खगेन्द्र जोशीले १४ रन बनाए।
बलिङतर्फ कैलाली क्लबका वीरेन्द्र नाथले तीन तथा कप्तान शेर मल्ल, श्यामसुन्दर साउद र नरेन साउँदले दुई/दुई विकेट लिए।
त्यसअघि कैलाली जिल्ला क्रिकेट क्लबका लागि अर्जुन साउदले अविजित ३३, राजन सिंहले २७, दिनेश ओडले १९ र वीरेन्द्र नाथले १४ रन बनाए। बलिङतर्फ डीसीएका भोजराज भट्ट, हिकमत महरा र अरुण ऐरीले दुई/दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ कैलालीका वीरेन्द्र नाथ चुनिए।
प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडीले जनही रु सात हजार ५०० का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा बुङ्गल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर, कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी, कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी, कैलालीको सहभागी छन्।











