‘आफ्नै उत्पादन आफ्नै व्यापार’ कार्यक्रम घाेषणा र ‘मेड इन नेपाल’ कार्यक्रमलाई प्रवर्द्धन
काठमाडौं, जेठ १० : सरकारले नेपाली उत्पादनलाई जोड दिने कार्यक्रमहरू घोषणा गरेको छ।
आगामी आर्थिक वर्षदेखि नेपाली उत्पादन र उपभोग दशक सुरु गर्नुका साथै ‘आफ्नै उत्पादन आफ्नै व्यापार’ कार्यक्रम पनि घोषणा गरिएको छ।
अर्थतन्त्र बलियो बनाउन तथा आन्तरिक उत्पादन वृद्धिका लागि ‘मेड इन नेपाल’ प्रवर्द्धन कार्यक्रम घोषणा गरिएको छ ।
मंगलबार संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यी सबै कार्यक्रम घोषणा गरेकी हुन्।
नेपाली उत्पादन र उपभोग बढाउन आउने आर्थिक वर्षदेखि नेपाली उत्पादन र उपभोग दशक प्रारम्भ गरी प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रम सञ्चालन गर्ने उनले बताइन्।
निजी क्षेत्रले अगाडि बढाएको स्वदेशी वस्तुको प्रयोग बढाउन मेक इन नेपाल, मेड इन नेपाल अभियानलाई सरकार सहभागी भएर सहयोग गर्ने जनाइएको छ।
नीति तथा कार्यक्रममा तुलनात्मक लाभ भएका वस्तुहरूमा आन्तरिक तथा वैदेशिक लगानी वृद्धि गरिने, सीपमूलक रोजगारी वृद्धि गरिने, नेपाली उत्पादनको बजार विस्तार गर्ने उल्लेख छ।
सरकारले ‘आफ्नै उत्पादन आफ्नै व्यापार’ कार्यक्रम घोषणा गरेको छ। आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्दै अर्थतन्त्र बलियो बनाउन तथा आन्तरिक उत्पादन वृद्धिका लागि ‘मेड इन नेपाल’ प्रवर्द्धन कार्यक्रम घोषणा गरिएको छ ।
ठुला विदेशी उद्योगको उत्पादन नेपालमा गरी त्यसबाट लाभ लिन लगानी आकर्षणको नीति लागु गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
एकल विन्दु सेवा केन्द्र निर्माण गरी वैदेशिक लगानीमा रहेका झन्झट अन्त्य गरिने घोषणा गरिएको छ ।











