स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न भयाे : राष्ट्रपति भण्डारी
आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताउँदै उनले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरिन्।
काठमाडौं, जेठ १० : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन-२०७९ निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएकी छन्।
आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले त्यस्तो बताएकी हुन्।
आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताउँदै उनले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरिन्।
‘स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग, सहयोग पुर्याउने सुरक्षा निकाय तथा यसमा संलग्न राजनीतिक दल संघ संस्था तथा आम नागरिक सबैप्रति सरकार आभार व्यक्त गर्दछ,’ उनले भनिन्।
उनले निर्वाचन सम्पन्न गर्नु आफैंमा चुनौतीपूर्ण हुने उल्लेख गर्दै सबै खाले संशय र भ्रमका बाबजुद निर्वाचन सम्पन गराउन सकेकोमा सरकारले सन्तुष्टि महसुस गरेको बताइन्।











