Kathmandu Press

मूल्यवृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष १५ विद्यार्थी संगठनकाे ध्यानाकर्षण

काठमाडाैं, जेठ १० : १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा...
मूल्यवृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष १५ विद्यार्थी संगठनकाे ध्यानाकर्षण

काठमाडाैं, जेठ १० : १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटी ती विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्।

मन्त्री बडुले अहिले नै मूल्यवृद्धि फिर्ता गर्न केही भन्न नसक्ने र मूल्यवृद्धिका सम्बन्धमा आज छलफल गरिने बताएका वैज्ञानिक समाजवादी विद्याथी संगठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिए। विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन्। 

यस्तै विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक करबारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने,  पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन्।
  
पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन्। 

यस्तै विद्याथी संगठनले भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। 

आयल निगमले गत वैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा रु २०० वृद्धि गरेको थियो।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी संगठनले ध्यानाकर्षणपत्र बुझाएका हुन्। 

यसैबीच नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज दिउँसो माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ। साथै, विभिन्न सङ्घसंस्थाले पनि मूल्य वृद्धिको विरोध गरिरहेका छन्।

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्