पाेखरामा एकीकृत समाजवादीका आचार्य मेयर र एमालेकी गुरूङ उपमेयर बन्ने निश्चित
कुल खसेको १ लाख ४३ हजार २२६ मतमध्ये अब गन्न बाँकी मत ३ हजार ८ सय १५ रहेको छ।
पोखरा, जेठ १० : पोखरा महानगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको विजय सुनिश्चित भएको छ।
पोखरामा गन्न बाँकी मत निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तरभन्दा कम रहेकाले उनीहरु दुवैको जित सुनिश्चित भएको हो।
कुल खसेको १ लाख ४३ हजार २२६ मतमध्ये अब गन्न बाँकी मत ३ हजार ८ सय १५ रहेको छ।
पछिल्लो परिणामअनुसार आचार्यले ५७ हजार ७२ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन्।
त्यसैगरी उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५९ हजार ७० मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत ल्याएकी छन्।
पोखरामा हालसम्म ३० वटा वडाको नतिजा आइसकेको छ। तीमध्ये कांग्रेसले २२ वटा वडामा जित निकाल्दा एमालेले ८ वटा वडामा सीमित भएको छ।











