‘२१ वर्षको युवाले के गर्छ भन्न थालेका छन्, मैले आफूलाई प्रमाणित गर्नुछ’
बिबिए सकेर फर्केदेखि मैले नगरवासीको समस्या बुझ्नतिर लागेँ । परिवारको सहयोग, शिक्षित व्यक्तिले समाजलाई सुधार्न सक्छ भन्ने गाउँवासीको विश्वासका कारण म निर्वाचित भएको हुँ ।
पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट २१ वर्षीय वशिष्ठकुमार कलवार निर्वाचित भएका छन्। कलवार भारतबाट बिबिएको अध्ययन पूरा गरी सात महिनाअगाडि घर फर्किएका थिए। उनी जसपा पर्साका नेता दिनेशकुमार कलवारका भतिजा हुन्। २१ वर्षको उमेरमै गाउँपालिका अध्यक्षमा निर्वाचित कलवारसँग आगामी योजना के छन् ? उनको राजनीतिक यात्रा कसरी सुरु भयो ? प्रस्तुत छ, यसै सन्दर्भमा नवनिर्वाचित अध्यक्ष कलवालसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्ताको सम्पादित अंश :
सानै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ, तपाईं राजनीतिक यात्रा कसरी सुरु भयो ?
म राजनीतिक परिवारमै जन्मे–हुर्केको हुँ। मेरो काका (दिनेश कलवाल) काकी (कुसुमदेवी), आमा (लादशादेवी) राजनीतिमा सक्रिय हुनुहुन्छ। बुवा (सुरेशप्रसाद) राजनीति संलग्न नभए पनि राजनीति बुझ्नुभएको छ। यही पारिवारिक माहोलका कारण मैले बाल्यकालदेखि राजनीति बुझ्ने अवसर पाएँ। मलाई पनि विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्ने मन थियो, तर अध्ययनका कारण सक्रिय रूपमा लाग्न पाइनँ।
०७४ को स्थानीय चुनावमा मेरी आमाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो। त्यतिबेला प्रचार–प्रसारमा हिँड्दादेखि म गाउँमा चिनिन थालेको थिएँ। त्यतिबेला आमाले हार बेहोर्नुपरे पनि मैले धेरै कुरा बुझ्ने अवसर पाएँ।
०७४ मा यस पालिकामा नेपाली जनता दलका नाथुनीप्रसादले अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)का राजेश चौरियाले उपाध्यक्ष पद जित्नुभएको थियो। दुई वर्षअघि कोरानाका कारण अध्यक्ष नाथुनीप्रसादको निधन भयो, त्यसयता उपाध्यक्ष राजेश चौरियाले अध्यक्षको कार्यभार सम्हाल्नुभएको थियो।
म अध्ययनका सिलसिलामा भारतमा बसे पनि बिदामा गाउँ आउँदा सामाजिक कार्यमा सक्रिय भइरहन्थेँ। यहाँ विगत २५ वर्षदेखि नेपाली कांग्रेसले जित हासिल गर्दै आएको थियो। तर, नगरवासीको हितमा काम हुन सकेको छैन। अघिल्लापटकका प्रतिनिधिले गाउँमा सुधार ल्याउने काम खासै गर्न सकेनन्।
बिबिए सकेर फर्केदेखि मैले नगरवासीको समस्या बुझ्नतिर लागेँ। परिवारको सहयोग, शिक्षित व्यक्तिले समाजलाई सुधार्न सक्छ भन्ने गाउँवासीको विश्वासका कारण म निर्वाचित भएको हुँ।
पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले वा समाजमा भिजेकाले टिकट पाउनुभएको हो ?
मलाई पहिलेदेखि राजनीति र व्यवसायमा रुचि थियो। राजनीतिमा छोटो समय भए पनि पूर्ण रूपमा सक्रिय थिएँ। लामो समयसम्म राजनीति गरेका अनुभवीले उपलब्धिमूलक काम गर्न सकेनन्। समाज परिवर्तन गर्न सक्ने केही धारणा र योजना मैले गाउँ समाजमा राखेँ, त्यसैले निर्वाचित हुन मलाई सहज भयो। परिवारको छवि, गाउँको सहयोग र विश्वासले टिकट पाएँ र जितेँ पनि।
यहाँको बुझाइमा पालिका नेतृत्वका लागि अनुभवी पुरानो पुस्ता र शिक्षित नयाँ पुस्तामा के फरक हुन्छ ?
अनुभवी तथा लामो समय राजनीति गरेको पुस्ताले मात्र काम गर्न सक्छन् भन्ने होइन। नयाँ पुस्तासँग समाज विकासका लागि प्रविधिमैत्री सोच र योजना हुन्छन्। बूढापाका व्यक्तिले प्रविधिसँग त्यति जोडिन सक्दैनन्, जति युवा सक्रिय छन्।
समाज बिस्तारै प्रविधिमैत्री बन्दै छ। नयाँ पुस्ताले प्रविधिको सहयोगमा पालिकाबाट दिने सेवा–सुविधा, विकासको योजना र समस्यालाई छिटो र छरितो बनाउन सक्छन्। पालिकाले पहिला दिने सेवा–सुविधा र अब पाउने सेवा सुविधामा फरक आउनेमा हामी ढुक्क छौँ।
नगरवासीको आवश्यकता र माग अनुसार काम गरेर गाउँपालिकामा परिवर्तन भएको महसुस गराउने हाम्रो लक्ष्य छ।
गाउँपालिकाका प्रमुख समस्या के हुन् र त्यसमा यहाँसँग समाधानका योजना के छन् ?
कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना छ। यस पालिकावासीको आम्दानीको स्रोत नै कृषि हो। पालिकाका पाँचवटा वडामा लगभग १६ हजारभन्दा मानिस बढी बसोबास गर्छन्। उनीहरू पूर्ण रूपमा कृषिमा निर्भर छन्। तर कृषिका लागि बीउ समयमा नपाउने, महँगो शुल्कमा बीउ खरिद गर्नुपर्ने लगायत समस्या छन्। उत्पादित तरकारीले बजार नपाउने समस्या छ। त्यसैले सुरुवाती दिनमा गाउँपालिकाभित्रको कृषियोग्य जमिन मापन गरी एक वर्षसम्म पुग्ने विभिन्न प्रकारका बिरुवा उत्पादन गर्ने योजना छ।

पालिकाभित्र स्वास्थ्य चौकी तथा सामान्य मेडिकल छन् तर औषधि र विशेषज्ञ डाक्टरको अभाव छ। उपचारका लागि आसपासको जिल्ला पुग्नुपर्ने बाध्यता छ।
अर्को, शिक्षा क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ। गाउँपालिकाभित्र तीन–चारवटा मात्र स्कुल छन्। यहाँ कक्षा १० सम्म मात्र अध्ययन हुन्छ। प्लस टु पढ्न अन्य स्थानमा जानुपर्छ। कक्षा–१० सम्म सम्पूर्ण रुपमा निःशुल्क अध्ययन गराउने व्यवस्था अहिलेसम्म कार्यान्वयन भइसकेको छैन। त्यसलाई कार्यान्वयन गर्ने योजना छ। गाउँका शिक्षकले लापरबाही गरेको देखिन्छ। अन्य जिल्लाका शिक्षक ल्याएर गुणस्तर शिक्षा प्रदान गर्छु।
गाउँपालिकाभित्र वृद्धवृद्धाका भत्ता लिनका लागि टाढा–टाढासम्म पुग्नुपर्ने समस्या छ। युवाका समस्या फरक–फरक छन्। पालिकाभित्र उद्योग तथा व्यवसाय छैन। त्यसैले युवा जति कमाउनका लागि बाहिर जानुपर्ने बाध्यता छ।
स्थानीय सरकारले दिने सेवा–सुविधाका बारेमा समेत जानकारी नभएका कारण पालिकावासी पीडामा छन्। त्यस्ता समस्यालाई समाधान गर्न सचेतना कार्यक्रम गर्ने योजना छ। पालिकामा उद्योग व्यवसाय सञ्चालन गर्ने, खेलकुदका लागि आवश्यक सामग्री र स्थान उपलब्ध गराउने योजना छ।
स्थानीय स्रोत साधनको पहिचान र परिचालनमा यहाँसँग के कस्ता योजना छन् ?
गाउँवासीको आवश्यकता र माग पहिलो प्राथमिकतामा राख्नेछौँ। गाउँपालिकाभित्र भएका धार्मिक स्थल, पार्क, पोखरीलाई संरक्षण गर्नेछौँ। त्यसलाई संरक्षण गर्नका लागि स्थानीयलाई अध्ययन तथा अनुगमनका लागि परिचालन गरिनेछ।
त्यस्तै, गाउँपालिकाभित्रका धर्म, संस्कृतिलाई जोगाउन तालिम दिने, विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने योजना छ। गाउँवासीको सहजताका लागि गरिने हरेक कार्यक्रममा गाउँवासीलाई नै परिचालन गर्ने उद्देश्य हो।
काम गर्दै जाँदा के कस्ता चुनौती आउन सक्ने आकलन गर्नुभएको छ?
चुनौती धेरै छन्। राजनीतिका विज्ञ पालिकाभित्र छन्। समाजका विज्ञ तथा विपक्ष पार्टीका मानिसले २१ वर्षीय युवाले के गर्छ भन्न थालेका छन्। नयाँ पुस्तालाई केही गर्न आउँदैन, अनुभव छैन भन्ने उनीहरुको कुरा छ। मलाई विकासको काम गर्नुछ। म विकास गर्छु। सक्षम नेतृत्व गर्नका लागि अनुभव र उमेरले फरक पर्दैन भनेर प्रमाणित गर्नुछ। जनतालाई सुख दिनु नै मेरो लक्ष्य हो, त्यही गर्छु।
म गाउँवासीको सहयोगले नै निर्वाचित भएको हुँ। लामो समयदेखि दुःख भोग्दै आएका गाउँवासीको पीडा बुझेर समाधान गर्ने हाम्रो लक्ष्य छ। पालिकाबासीलाई खुसी हुने काम गर्छु, दुःखी बनाउँदिनँ।
अन्तमा, पालिकावासी, परिवार र यहाँका स्थानीय युवालाई विशेष धन्यवाद दिन चाहन्छु। जुन अपेक्षा गरेर मलाई जिताउनुभएको छ, त्यही काम गरेर देखाउनेछु भन्न चाहन्छु।











-(86)-1764936079.jpg)
