वीरगन्जमा १६ वडाकाे मतगणना सकिँदा फराकिलाे मतान्तरले सिंहको अग्रता कायमै
वीरगन्ज महानगरमा हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो।
वीरगन्ज, जेठ ९ : मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन्।
गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएको हो भने नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्। हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो।
महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मतपरिमाण आउन बाँकी छ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका हुन्। त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन्।











