पोखराको मतगणना अन्तिम चरणमा, फराकिलो मतान्तरले आचार्यकाे अग्रता
आचार्यले ५० हजार ६ सय १२ मत प्राप्त गर्दा उनका निकटतम प्रत्यासी एमालेका कृष्णबहादुर थापाले ४६ हजार ५ सय ८३ मत प्राप्त गरेका छन्।
पाेखरा, जेठ ९ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
वैशाख ३१ देखि सुरु भएको गणनामा कुल एक लाख ४३ हजार २२६ मत खसेकामा १ लाख २५ हजार ५२० मतको गणना सकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ। पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले चार हजार २९ मतको अग्रता बनाएका छन्।
आचार्यले ५० हजार ६ सय १२ मत प्राप्त गर्दा उनका निकटतम प्रत्यासी एमालेका कृष्णबहादुर थापाले ४६ हजार ५ सय ८३ मत प्राप्त गरेका छन्। गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाएका हुन्।
मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए।
महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गर्नुभएको छ। यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको दुई हजार ८६४ मत ल्याएका छन्।
यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले) का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ। गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ। गठबन्धनका उम्मेदवार रानाभाट तीन हजार ५८७ मतले पछाडि पर्नुभएको छ।
मतगणनाको सुरुआती चरणदेखि अग्रता बनाउनुभएका रानाभाटलाई अन्तिम चरणमा गुरुङले पछि पार्नुभयो। उपप्रमुखमा राप्रपाका रञ्जना सेनको पाँच हजार ३१८ मत रहेको छ। पोखरामा हालसम्म २५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १८ वडामा जित हासिल गरेको छ। नेकपा एमालेले सात वडा जितेको छ। अहिले वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ।











