Kathmandu Press

जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

दमौली, जेठ ९ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्। 

तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेपछि आज आयोजित विजयसभालाई सम्बोधन गर्दै उनले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने बताए। जनताको विश्वासमाथि तुषारापात हुन दिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले शासक नभई जनताको सेवक बनेर काम गर्न आग्रह गरे। उनले ठोस विकासका लागि काम गर्न आग्रह गर्दै भरे, 'नगरको विकासमा धेरै काम गर्न बाँकी छ, विकासको कामलाई मूर्त रुप दिन बाँकी छ।'

जनतालाई गाउँमै बसूँबसुँ बनाउन आफूले राजनीति सुरु गरेको भन्दै पौडेलले उक्त अभियान सफल भएरै छाड्ने बताए। राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर नेपाललाई सफल बनाउने अभियान कांग्रेसको मूल ध्येय रहेको उनको भनाइ थियो। देशको विकास र स्थायित्वका लागि गठबन्धन गरिएको चर्चा गर्दै उनले आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताए।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे। व्यासका नवनिर्वाचित प्रमुख बैकुण्ठ न्यौपानेले जनताको भावनाअनुसार काम गर्ने बताए।

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्