सप्तरीकाे डाक्नेश्वरीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी, जेठ ८ : डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए।
उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले ५ हजार २०९ मत ल्याइन्। इन्दुदेवी यादव निवर्तमान उपप्रमुख थिइन्।
वडाध्यक्षमा एमाले र कांग्रेसले चारचार, जसपा र लोसपाले एकएक वडा अध्यक्षमा विजयी हासिल गरेको छ। एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन्।
कांग्रेसबाट वडा १ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी हुनुभएको छ। वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन्।
योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ। कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ। जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुईदुई स्थानीय तह र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एकएक स्थानीय तहमा विजयी हासिल गरेका छन्।
अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ। रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएको छ। उनलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइरहेका छन्।











