धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित
चुनाव चिह्न लौरो लिएर उठेका उनी २० हजार ८ सय २१ मतसहित निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरे।
काठमाडौं, जेठ ७ : सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन्।
चुनाव चिह्न लौरो लिएर उठेका उनी २० हजार ८ सय २१ मतसहित निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरे।
गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रहेका राईले १६ हजार ५९ मत पाए। उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भए।
उनले २० हजार ५१० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६ सय ६ मत पाए।
एक दशकयता धरानमा सामाजिक मुद्दामा खबरदारी गरिरहेका उनले धरानमा खानेपानीको समस्या सामधान गर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।
साम्पाङ २०७६ सालको उपनिर्वाचनमा पनि धरान मेयरका लागि उम्मेदवार थिए। त्यतिखेर काङ्ग्रेसका तिलक राई निर्वाचित हुँदा उनले ४२२ मत ल्याएका थिए।
जित्ने सुनिश्चित भएपछि उनले मतगणनास्थलबाहिर आएर फेसबुक लाइभमार्फत भोट नै ठुलो सम्मान भएको बताउँदै विजयोत्सवमा खादा, मालालगायत सामग्री नल्याउन आग्रह पनि गरेका छन्। उनले सबै मतदातालाई धन्यवाद दिएका छन्।











