कुनैपनि सुविधा नलिने दमकका नवनिर्वाचित नगरप्रमुखको घोषणा
झापा, जेठ ८ : झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका...
झापा, जेठ ८ : झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् ।
निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पारे।
जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे। दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।
राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उहाँ राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसाईँ निर्वाचित भएका थिए । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो।











