सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल
काठमाडौं, जेठ ८ : सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीचको बैठक बालुवाटारमा जारी छ।बैठकमा गठबन्धन पाँच दलका शीर्ष नेताहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको रहेको...
काठमाडौं, जेठ ८ : सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीचको बैठक बालुवाटारमा जारी छ।
बैठकमा गठबन्धन पाँच दलका शीर्ष नेताहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको रहेको प्रधामन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरूले बैठकमा सहभागिता रहेको छ।
बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुले साझा धारणा बनाउने प्रयास भइरहेको बताइएको छ।जेठ १५ गते आर्थिक वर्ष २०७९/८० काे बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सत्तारूढ गठबन्धन न्यूनतम साझा कार्यक्रममा जुटेकाे हाे।
अहिले संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ। सरकारले यही जेठ १० गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
शनिबार पनि बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो। साे बैठकमा न्यूनतम साझा कार्यक्रमका साथै स्थानीय तहको निर्वाचनबाट गठबन्धनलाई प्राप्त उपलब्धिबारे बैठकमा प्रारम्भिक पनि समीक्षासमेत गरिएकाे थियाे ।











