सप्तरीमा २५ वर्षीय चौधरी गाउँपालिका अध्यक्ष निर्वाचित
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा विद्यानन्द चौधरी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
राजविराज, जेठ ८ : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए। सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए।
लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भएपनि पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का राजुदेवी यादव दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याइन्।
एमालेकी ललितादेवी मेहताले एक हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान एक हजार ३८४ मत ल्याइन्। मण्डल गत स्थानीय तह २०७४ को स्थानीय तहको निर्वाचनमा एक हजार ७१० मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । कूल १७ हजार ७५७ मत रहेको छिन्नमस्तामा १३ हजार ७४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई–दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक÷एक वडाध्यक्षमा जित हासिल गरेको छ।
वडा नं १ बाट ६८३ मत ल्याएर माओवादी केन्द्रका ललनप्रसाद यादव, २ बाट ३४० मत ल्याएर जनमतका सिकेन्द्रकुमार साह, ३ बाट ८९२ मत ल्याएर जसपाका विजयकुमार यादव, ४ बाट ३९९ मत ल्याएर एकीकृत समाजवादीका सूर्यनारायण यादव, ५ बाट ७२८ मत ल्याएर एमालेका जयप्रकाश ठाकुर, ६ बाट २९४ मत ल्याएर माओवादीका कपिलेश्वर साह, ७ बाट ७१४ मत ल्याएर एमालेका अच्छेलाल यादव निर्वाचित भए।
जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले सर्वाधिक पाँच नगरप्रमुखमा जित हासिल गरेको छ । यसैगरी जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई–दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । रुपनीमा जसपा र डाक्नेश्वरीमा कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।











