धनुषामा सबैभन्दा ठूलो दल बन्यो कांग्रेस, एमाले तेस्रो
काठमाडौं, जेठ ८ : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ...
काठमाडौं, जेठ ८ : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ।
ती मध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन्।
जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी भएकी छन्।
औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित भएकी छन् । धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन् । त्यस्तै जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसका कमला सहगल निर्वाचित भएकी छन्।
विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित भएकी छन् भने उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित भएकी छन्। धनुषाधाम नगरपालिको प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएकी छन्
कमला नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित भइन् । सहिदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा कांग्रेसका सुनिताकुमारी सिंह विजयी भएकी छन्।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भइन् । बटेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार रामअशिष महतो र उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह निर्वाचित भइन्।
मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनितासिंह बुढाथो निर्वाचित भएकी छन् । त्यस्तै नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी भइन्।
गणेशमान चारनाथ नगरपालिका प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उम्मेदवार कारीराम यादव र उपप्रमुख रहिमा खातुन निर्वाचित भएका छन्।
हंसपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार प्रदीप यादव र उपप्रमुखमा कांग्रेसकै दुर्गा देवी निर्वाचित भइन् । त्यस्तै मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भइन्।
धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुर धाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन्।











