वीरगञ्जमा ६५ हजार मत गणना हुँदा सरावगीभन्दा दोब्बर मतले राजेशमानको अग्रता
सरावगीले १६ हजार ८२२ मत प्राप्त गर्दा सिंहले ३२ हजार १५८ मत ल्याएका छन् ।
काठमाडौं, जेठ ८ : वीरगञ्ज महानगरपालिकाको मेयरका लागि गठबन्धन दलका उम्मेदवार राजेशमान सिंहले विपक्षी उम्मेदवारसँगको मतान्तर दोब्बर बनाएका छन्।
आइतबार बिहानसम्मको मतपरिणाम अनुसार वीरगञ्ज महानगरकै निवर्तमान मेयर समेत रहेका एमाले उम्मेदवार विजयकुमार सरावगीलाई करिब दोब्बर मतान्तरले पछि पारेका हुन्।
सरावगीले १६ हजार ८२२ मत प्राप्त गर्दा सिंहले ३२ हजार १५८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले २ हजार ३५९ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले चार गुणा मतान्तरसहित अग्रता लिइरहेका छन् । उनले २२ हजार १०५ मत ल्याउँदा लोसपाका पुरुषोतमलाल झाले ५ हजार २६६ मत ल्याएका छन्।
त्यस्तैगरी राप्रपाकी बिना जैसबालले४ हजार १३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार ९९५ मत पाएकी छन्।
महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी ९जसपा०बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो।











