धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी
धनगढी, जेठ ७ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र...
धनगढी, जेठ ७ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन्।
धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो। एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पूरै खेल्दा ८४ रन मात्रै बनाउन सक्यो। उसका लागि राजु रिजालले ३१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन।
डीसीएलाई सस्तैमा समेट्न महेन्द्रनगरका राहुल भण्डारीले चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिए। हेमन्त धामीले दुई विकेट लिए। त्यसअघि धनगढी क्रिकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर ११३ रनमै समेटिएको थियो। उसका लागि आयुष्मान बमले २५ र हेमन्त धामीले २२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन। बलिङतर्फ हेमन्तले चार ओभर बलिङ गर्दै एक मेडन ओभरसहित १८ रन खर्चिएर महत्वपूर्ण छ विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ राहुल भण्डारी चुनिए। आजै भएको दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावर क्रिकेट क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। एक सय ८० रन पछ्याउँदै जवाफी ब्याटिङ थालेको कैलाली जिल्ला क्रिकेट क्लबले नौ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो। उसका लागि दीपक टमाटाले ४१ र दिनेश ओडले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ लिटल फ्लावरका दीपक बोहराले चार ओभर बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक चार विकेट लिए। उसका कौशल रुपाखेतीले दुई विकेट लिए। त्यसअघि लिटल फ्लावरका लागि प्रकाश जैशीले चार छक्का र तीन चौकाको मद्दतले २८ बलमा ४८ र कृष्ण कार्कीले छ चौका तथा एक छक्काको मद्दतले २४ बलमा ४२ रनको अविजितपारी खेले। छ विकेट गुमीसेकेको अवस्थामा उनीहरूले अन्तिम ४१ बलमा ८६ रनको साझेदारी गर्दै टिमलाई सम्मान जनक योगफलतर्फ अघि बढाएका थिए।
उसका मनिष थापाले २६ र दीपक बोहराले २२ रन बनाए। बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका वीरेन्द्र नाथले दुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ प्रकाश जैसी चुनिए। लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा प्रतियोगिता यही जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद रु दुई लाख उपविजेताले रु एक लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्स म्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहेको बताइएको छ।











